पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ स्याङ्जाले पुस्तक दिवस मनायो

स्याङ्जा : बिगत केही वर्षदेखि नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघले वसन्त पञ्चमीको दिनमा मनाउँदै आएको पुस्तक दिवस यसवर्ष पनि बिविध कार्यक्रम गरी देशभर मनाएको छ । यस अवसरमा बिहिबार श्रीपञ्चमीको दिन महासंघ जिल्ला शाखा स्याङ्जाले वालिङ नगरपालिका वडा नम्बर १३ मा रहेको सर्वशक्ति आधारभूत बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री बितरण गरेको छ । महासंघका जिल्ला अध्यक्ष किसान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वालिङ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष आनन्द पाठक प्रमुख अतिथि रहनुभएकोथियो । कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष पाठकले सामुदायिक बिद्यालयमा समय सापेक्ष प्राबिधीक र भौतिक संरचना थप्नुपर्ने बताउँदै आगामी वर्षबाट यस सर्वशक्ति आधारभूत बिद्यालयमा डिजिटल प्रणालीबाट पठनपाठन सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा महासंघका गण्डकी प्रदेश कोषाध्यक्ष रामचन्द्र नेपालले संस्था स्थापना पछी भएका कार्य बिवरण एवं उपलब्धि बारे चर्चा गर्नुभयो । महासंघका जिल्ला कोषाध्यक्ष युवराज गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य चक्रबन्धु रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक पदम प्रसाद पाठक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुक्मांगत पाठक, स्थानीय टोल विकास संस्थाका अध्यक्ष यज्ञ पाठक र मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र गैरे लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । यस अवसरमा जिल्लाका पुस्तक तथा स्टेशनरी व्यावसायीबाट संकलित स्टेशनरी सामग्री बिद्यालयका ५० जना बिद्यार्थी लाई बितरण गरिएको महासंघका जिल्ला कार्यसमिति सदस्य युवराज अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP