कृषि क्षेत्रबाट मात्रै देशको उन्नति सम्भव छ : नगरप्रमुख अधिकारी

आँधीखोला खबर/गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले कृषि क्षेत्रबाट मात्र देशको उन्नति सम्भव भएको बताउनुभएको छ । उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्व रहेको स्पष्ट पार्नु भयो ।
गल्याङ नगरपालिका ८, झोल्पेमा रहेको गाउँ सुधार दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा तथा नवौं अधिबेशनको उद्घाटन गर्दै प्रमुख अधिकारीले बैदेशिक रोजगारीको अन्त्य गर्नका लागि किसानलाई प्रोत्साहन अनिवार्य रहेको स्पष्ट पार्नु भयोे ।
नगरप्रमुख अधिकारीले “एक घर एक गाई”को अभियान नगरपालिकाले सुरु गरेको जानकारी दिदै त्यसबाट लाभ लिएर अगाडि बढ्न नागरिकलाई आग्रह समेत गर्नु भयो ।
दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान नेपालका अन्य क्षेत्रमा नभएको भन्दै उहाँले आगामी दिनमा पनि किसानको उन्नतिका लागि आफुले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा कफि व्यवसायी महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद भण्डारीले उत्पादनसँग किसानलाई जोड्नु अहिलेको चुनौति रहेको बताउनुभयो । उहाँले नगरपालिकाले कृषि क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै किसानलाई साथ लिएर अगाडि बढ्न सुझाव दिनुभयो ।
नेकपा गल्याङ नगरकमिटि अध्यक्ष नारायणप्रसाद अधिकारीले देशको महत्वपूर्ण अंगको रुपमा रहेको सहकारीले स्थानीय तहका जनताको उन्नतिमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
वालिङ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष आनन्द पाठकले कृषि अनुदानमा गल्याङ नगरपालिकाले महत्वपूर्ण काम गरेको भन्दै वालिङ नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठ,गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्याल, जिल्ला बचत संघका उपाध्यक्ष यज्ञप्रसाद पाठक,सिद्वशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बुद्विसागर भण्डारी, जनकल्याण युवा क्लबका पूर्व अध्यक्ष नेत्र राना, लगायतले बोल्नुभएको थियो ।
हाल यस संस्थाबाट दैनिक पाँच सय लिटर दुध उत्पादन भइरहेको छ ।

Facebook Comments Box
TOP