२०२१ को टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल सिधै छानियो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपका लागि छनोट प्रक्रिया सार्वजनिक गरेको छ।

१६ टिमबीच हुने सन् २०२१ को टी-२० विश्वकपका लागि सन् २०२० को विश्वकपका शीर्ष १२ टिम सिधैं छनोट हुनेछन्।

पुछारका ४ टिम विश्वकप छनोट प्रतियोगितामा धकेलिनेछन्। जनावरी २०२० को टी-२० वरीयतामा अघि रहेका चार टिम पनि विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएका छन्। जसमा जिम्बावे, नेपाल, युएई र हङकङ रहेका छन्।

छनोट खेल्ने १६ मध्ये ८ टिमले भने क्षेत्रीय छनोट पार गर्नु पर्नेछ। छनोट प्रतियोगिताबाट ४ टिम सन् २०२१ को विश्वकपमा छनोट हुनेछन्।

यसको अर्थ नेपालले सन् २०२१ को विश्वकप खेल्नका लागि विश्वकप छनोट खेल्ने १६ मध्ये शीर्ष चारमा पर्नुपर्नेछ। विश्वकप छनोट प्रतियोगितामा २ समूहमा ८-८ टिम हुनेछन्। समूहका शीर्ष २-२ टिम विश्वकपमा पुग्नेछन्। विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबरमा हुनेछ।

२०२१ टी-२० विश्वकप भारत

१६ टिम ‌

सन् २०२० को विश्वकपका शीर्ष १२ टिम

विश्वकप छनोटबाट आउने ४ टिम

विश्वकप २०२१ छनोट प्रतियोगिता

१६ टिम

सन् २०२० को विश्वकपका पुछारका ४ टिम

नेपाल,जिम्बावे, युएई, हङकङ

क्षेत्रीय छनोट पार गर्ने ८ टिम

आइसिसीले सन् २०२१ को टी-२० विश्वकप च्याम्पियन्स ट्रफीको सट्टामा आयोजना गर्न लागेको हो। त्यसैले टी-२० विश्वकप एकै वर्षको अन्तरालमा हुनेछ। किनकी सन् २०२० को अन्त्यमा अस्ट्रेलियामा टी-२० विश्वकप आयोजना हुँदैछ। यो विश्वकपमा १६ टिमले भाग लिँदैछन्।

नेपालले २०२० को टी-२० विश्वकपका लागि छनोट प्रतियोगितामै स्थान पाउन असफल भएको थियो।

सिंगापुरमा भएको छनोटमा पराजित हुँदा नेपालको विश्वकप खेल्ने धोको पूरा भएको थिएन। नेपाल छनोट हुने असफल भएको विश्वकप छनोट युएईमा भएको थियो। युएईबाट ६ टिमले अस्ट्रेलियाको टिकट काटेका थिए।

Facebook Comments Box
TOP