सुन्तला गाउँमा, सुन्तला र क्यानोनीङ महोत्सव

kyanoning-syanja-waling

श्रीकृष्ण सिग्देल/स्याङ्जा :

सुन्तला गाँउले परिचित वालिङ ४ एलादीमा गाउँलाई चिनाउन महोत्सव गरिएको छ । सुन्तलाबारी सामुदायिक होमस्टेको आयोजनामा गण्डकी प्रदेश स्तरीय प्रथम क्यानोनीङ, सुन्तला तथा साँस्कृतिक महोत्सव २०७६ आयोजना गरिएको हो । सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा घोषणा गरेपछि सुन्तलाबारी सामुदायिक होमस्टेले पर्यटक भित्राउन महोत्सव गरेको आयोजकले जनाएका छन् ।

स्याङ्जा आफैमा सुन्तला उत्पादनको पकेट जिल्लाकारुपमा परिचित छ । हरेक बर्ष स्याङ्जाबाट करोडौँको सुन्तला निर्यात भइरहेको छ । सुन्तलै सुन्तला भएको गाउँले परिचित गाउँ सुन्तलाबारीकै नामले होमस्टे पनि संचालन छ । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादी खाल्डे पुग्दा यो समयमा पर्यटकहरुलाई ल्योभ्याउने खालको सुन्तलाको बगैचा देख्न सकिन्छ । कात्र्तिकदेखि माघ महिनासम्म यहाँ सुन्तला बिक्रि नगरेर पर्यटकलाई लोभ्याउने काम गर्दै आएका छन् । यो समयमा पर्यटकलाई सुन्तला देखाएर यहाँको होमस्टेले व्यवसाय शुरु गरेका छन् ।

सुन्तला नहुँदा होमस्टेमा आउने पर्यटकलाई शाहसिक खेलका रुपमा चिनिएको क्यानोनीङ् (पानीको छहरामा) खेल पनि शुरु गरिएको छ । सुन्तला र क्यानोनीङलाई प्रचार प्रसार गर्न यो महोत्सव आयोजना गरिएको सुन्तलाबारी सामुदायीक होमस्टेका अध्यक्ष क्याप्टन डिलविक्रम गुरुङ् बताउँछन् ।
सुन्तला हेर्ने, साँस्कृतिक मनोरञ्जन लिनेदेखि क्यानोनीङको मज्जा लिन मिल्नेगरी आयोजना गरिएको महोत्सवले सुन्तलाबारी होमस्टेलाई संसारभर चिनाएको छ अध्यक्ष गुरुङ्ले भने, ‘सुन्तला नहुदा होमस्टेमा आउने पर्यटक अब क्यानोनीङमा रम्ने छन् ।’ होमस्टेलाई अर्को थप पहिचान बनाउन सुन्तलासंगै क्यानोनीङलाई पनि जोडेर महोत्सव गरेको अध्यक्ष गुरुङ्ले भने । सुन्तला बगैचाले घेरिएको यो गाउँमा आगनमा समेत सुन्तलाका बोटहरु देख्न सकिन्छ ।

सुन्तलासंगै होमस्टे पनि संचालनमा ल्याएपछि यहाँका बासिन्दाको आयआर्जनमा समेत उल्लेखनीय सुधार भएको सुन्तलाबारी सामुदायिक होमस्टेका कोषाध्यक्ष खेमराज गुरुङ्ले बताए । खाने, नाच्ने र पैसा कमाउने गाउँ हो यो कोषाध्यक्ष गुरुङ्ले भने, ‘सरकारले आउने सडकलाई व्यवस्थित गरिदिएमा यहाँ पर्यटकको ओइरो नै हुन्छ ।’ प्यारागलाईडिङको सम्भावना रहेको स्याङ्जामा अर्को शाहसिक खेल क्यानोनीङ होमस्टेले संचालनमा ल्याएको उनले बताए ।

महोत्सवको माध्यमबाट क्यानोनीङ खेलको पनि प्रचार प्रसारमा टेवा पुग्ने विश्वासका साथ आयोजकले यो खेललाई पनि जोडेको छ । क्यानोनीङ खेल्ने क्षेत्रलाई व्यवस्थित नहुँदा समस्या झेल्दै आएपनि अब स्थानीय सरकार र पर्यटन मन्त्रालयबाट सहयोगकको आश्वसन आएको स्याङ्जा क्यानोनीङ तथा पर्यटनप्रवद्धन समितिका अध्यक्ष मोहनीलाल खनालको भनाई छ । बिदेशी र स्वदेशी गरेर हाल सम्म १ सय ५० जनाले यो झरनामा खेलीसकेका छन् खनालले भने, ‘यस क्षेत्रलाई व्यवस्थित गर्न सकियो भने होमस्टेमा आउने पर्यटकलाई यो खेल खेलाउन टेवा मिल्नेछ ।’ क्यानोनीङ खेलको सम्भावना रहेको एलादीका लागि सरकारले सहयोगी भुमिका खेल्नुपर्ने आग्रह उनले गरे ।

सुन्तला सिजनमा सुन्तलाले पर्यटक तान्ने यो होमस्टेका लागि सुन्तला नहुदाको बेला क्यानोनीङले पर्यटक भित्राउने जुन पहलका साथ अगाडी बढेको छ यो सरकारले लक्ष्य राखे अनुसारकै कदम हो । यसका लागि स्थानीयलाई सरकारले पनि साथ दिने हो भने यो होमस्टे पनि सरकारले घोषणा गरेको भ्रमण बर्षलाई सफल बनाउन कोशेढुङ्गा सावित हुने देखिन्छ ।

साहसिक खेल क्यानोनीङ : वालिङ ४ एलादीमा रहेको झरनामा क्यानोनीङमा रमाउदै स्थानीय युवाहरु

Facebook Comments Box
TOP