वालिङमा व्यावशायीक मौरी पालन तालिम शुरु, मोडा बनाउने तालिम सकियो ।

माघ १६ वालिङ :
वालिङ नगरपालिका वडा नम्वर २ र वडा नम्वर ४ का व्यावशायीक रुपमा मौरी पालन गर्न चाहनेहरुका लागि आजबाट तालिम शुरु भएको छ । वडा नम्वर २ मा शुरु भएको तालिम ३ दिन सम्म चल्ने छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर २ का वडा अध्यक्ष पोत प्रसाद लम्सालले व्यावशायीक रुपमा मौरी पालन गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो मौरी पालनको वालिङमा राम्रो सम्भावना छ । सीपमुलक तालिमको सही सदुपयोग गरी उद्यमी बन्न अध्यक्ष लम्सालले आग्रह गर्नु भयो ।


कार्यक्रमको बारेमा दियालो युएनडिपीका परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी गराउनु भएको थियो । तालिममा मौरी पालन संघका केन्द्रीय उपाध्यक्ष श्याम प्रसाद अर्यालले सहजीकरण गर्नु भएको छ । तालिममा वडा नम्वर २ र ४ का गरी ३५ जना कृषकहरुको सहभागिता रहेको छ । मौरीपालन कृषि सहकारीका अध्यक्ष केदार रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कलेक्सन प्रमुख बिशाल बगालले गर्नु भएको थियो ।


त्यस्तै वालिङ १ मा व्यावशायीक मोडा बनाउने तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै वडा अध्यक्ष केदार काफ्लेले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, सीपलाई व्यवहारमा उतार्न सके सहजै आर्थिक उपार्जन गर्न सकिन्छ ।
वडा अध्यक्ष काफ्लेले वाडावासीलाई सही सिप प्रदान गरी उद्यमी बनाउने अभियानमा लागेको जानकारी गराउनु भयो ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कबिता तिवारी गैह्रेले कार्यक्रमले सीपयुक्त दक्ष उद्यमी बनाई समग्र नगरपालिकाका नागरिकको आर्थिक स्तरमा सुधार ल्याउने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले उत्पादित सामाग्रीलाई बजारीकरण गर्ने कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको सो अवसरमा जानकारी गराउनु भयो ।


कार्यक्रममा श्रीनगर टोलका अध्यक्ष एबं समाजसेवी सोम बहादुर गुरुङ, सहभागी पुनमाया गुरुङ, प्रशिक्षक पूर्ण बहादुर गुरुङ, लगायतले बोलेका थिए ।
श्रीनगर मोडा तथा ड्रेस उत्पादन सहकारीका उपाध्यक्ष उसा गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कृषि प्राबिधिक सीता काफ्लेले गर्नु भएको थियो । तीन दिन सम्म चलेको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।

Facebook Comments Box
TOP