जिल्लामै पहिलो पटक बिच भलिबल प्रतियोगिता : वण्डरफूल वालिङ रमाईलो मेला -२०७६
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङमा पहिलो पटक विच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्वारा आयोजित ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ मा जिल्लामै पहिलो पटक आयोजना गरिएको पुरुष बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य एवं विधायन समिति सभापति मोहनप्रसाद रेग्मीले महोत्सवले पर्यटन र खेल क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले खेलकुद र धार्मिक पर्यटनका दृष्टिले वालिङ तथा समग्र स्याङ्जा जिल्ला अगाडि रहेको बताउनुभयो ।
“खेल क्षेत्र र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यस खालका मेला महोत्सव तथा खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु” विधायन समिति सभापति रेग्मीले भन्नुभयो, “खेलकूदको क्षेत्रमा वालिङको छुट्टै पहिचान रहेकाले आगामी दिनमा पनि सो पहिचानलाई कायम गर्दै अगाडि बढ्नु आवश्यक छ ।”
खेलक्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा पनि यसप्रकारका प्रतियोगिताहरुलाई निरन्तरता दिंदै नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्दै जान पनि सुझाव दिनुभयो ।
महोत्सवमा रङ्ग रमाईलोलाई मात्रै नभई बिच भलिबल प्रतियोगितालाई एउटा आकर्षणकोरुपमा प्रस्तुत गरेको मेला आयोजक समितिका संयोजक आशिषप्रताप खाँणले बताउनुभयो ।
प्रतियोगितामा स्याङ्जासहित अन्य जिल्लाबाट पनि खेलाडीहरुको सहभागिता रहेको छ । “विशेष गरी नेपाल सरकारले यसवर्षलाई नेपाल भ्रमण वर्ष घोषणा गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं” मेला संयोजक आशिषप्रताप खाँणले भन्नुभयो ।
“यहाँ आउने दर्शकहरुका लागि अन्य मेला महोत्सवमा भन्दा पृथक भएको महसुस दिलाउनुकासाथै खेल क्षेत्रको विकासमा टेवा पु¥याउने उद्धेश्यले पुरुष बिच भलिबल प्रतियोगिता समावेश गरेका हौं” बीच भलिबल प्रतियोगिताका संयोजक दिपेन्द्र खाँणले भन्नुभयो, “जिल्लामै पहिलो पटक आयोजना गरिएकाले पनि खेल हेर्न र खेल्नका लागि खेलाडी तथा दर्शकहरुको आकर्षण बढेको छ ।”
१६ गतेसम्म सञ्चालन हुने बिच भलिबल प्रतियोगितामा हालसम्म ३० समूहले प्रतिस्पर्धाका लागि दर्ता गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश ः ३०, २०, १२ र ८ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक खाँणले बताउनुभयो ।
वण्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।
रमाईलो मेलाको चौथो दिन आज पनि उल्लेख्य दर्शकहरुको सहभागिता रह्यो । रमाईलो मेलाको चौथो दिन आज लोक गायिका शर्मिला गुरुङ, पप तथा आधुनिक गायक रमेशराज भट्टराई, पारु गुरुङ, ऋषि डुम्रे, कृष्ण पौडेल, गोपाल जिटीसहित स्थानीय कलाकारहरुले आ–आफ्नो नृत्य प्रस्तुत गरेका कलाकार ब्यवस्थापन समितिका संयोजक मणिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…