मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ५ पित्लेकमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत कृषकहरुका लागि तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष ढाकाराम पंगेनीले व्यवशायीक बन्न चाहने कृषकहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “कृषकको पक्षमा नगरपालिका र वडा रहेको छ ।” अध्यक्ष पंगेनीले तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवशायीक कृषक बन्न आग्रह गर्नुभयो ।
कार्यक्रमको बारेमा जानकारी दिदै परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कृषक र उद्यमीको हितमा नै नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कृषक तथा उद्यमीलाई तालिमसँगै आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अगाडि बढ्ने छ । ”
तालिममा वालिङ नगरपालिकाका कृषि शाखा प्रमुख केश बहादुर थापा, कस्तुरी अस्लामी थापा लगायतले प्रशिक्षण दिनुभएको छ ।
जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्दघाटन कार्यक्रममा स्वागत हुमनाथ लामिछानेले र सञ्चालन कृषि प्राबिधिक स्वयंसेवक राजेन्द्र प्रसाद लामिछानेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP