एक रुपैयाँले फेरियो गाउँको रूप

भवानी अधिकारी/स्याङ्जा : मेलापात र घरधन्दापछि आप्mनै शरीरमा लगाएको लुगामाथि पुछेर खाने गर्थे यहाँका दिदीबहिनीहरू। अहिले मेलापातमा जाँदा पनि हात धुनका लागि साबुनपानीको माग गर्छन्। गाउँमा सरसफाइ परियोजना सञ्चालनपछि सरसफाइका क्षेत्रमा यस्ता धेरै परिवर्तन आएको बिरुवा गाउँपालिकाका उपाध्यक्ष देवी थापाले बताइन्।

सुन्दा सामान्य लाग्छ। विद्यार्थीले खाजा खर्चबाट कटाएर संकलन गरेको एक रुपैयाँले गाउँपालिकाको सरसफाइमा सकारात्मक प्रभाव पारेको छ। जापानिज जुनियर तथा युवा रेडक्रसका विद्यार्थीले खाजाको रकमबाट दैनिक १ (येन) रुपैयाँ जम्मा गरी संंकलित रकमले बिरुवा गाउँपालिकाका विद्यालय र समुदायमा सरसफाइसम्बन्धी परियोजना सञ्चालित छ।

सरसफाइका क्षेत्रमा पछि परेको भन्दै सचेतनामूलक कार्यक्रमको परियोजना परेको बिरुवामा जापानिज रेडक्रसको सहयोगमा तीन वर्षदेखि सरसफाइ परियोजना सञ्चालनमा छ। नेपाल रेडक्रस र स्याङ्जा रेडक्रस सोसाइटीको आयोजना र जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाइका क्षेत्रमा परियोजनाले काम गर्दै आएको स्याङ्जा रेडक्रस सोसाइटीका सभापति भुवनबहादुर पौडेलले जानकारी दिए।

गाउँपालिकाका ३४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा अन्तर्राष्ट्रिय युवा समन्वय परियोजना सञ्चालन गरिएको छ। परियोजना सन् २०१७ देखि जारी छ। परियोजनाले गाउँपालिका भित्र रहेका ३५ वटै विद्यालय र त्यसअन्तर्गतका समुदायमा शौचालय निर्माण, खानेपानी तथा सरसफाइका क्षेत्रमा सचेतना एवं आर्थिक सहयोग गर्दै आएको रेडक्रसका मन्त्री दिनेश अर्यालले बताए।

परियोजना सुरुको अवस्था र अहिलेको अवस्थासम्म धेरै परिवर्तन भएको बताउँछिन् गाउँपालिका वडा नं ७ बलेउका रत्नमाया थापा। उनले भनिन्, ‘यसअघि हामीले गरेका व्यवहार र अहिलेको हाम्रो व्यवहारमा धेरै परिवर्तन भएको छ। फोहोरमैलाको व्यवस्थापनदेखि आफू, परिवार, घर, आँगन, समाज र विद्यालयको सफासुग्घरको आवश्यकता र प्रभावका बारेमा हामी धेरै जानकार भएका छौं।’

बालबालिका पनि विद्यालयमा र घरमा साबुनपानीले हात धोएर मात्रै खाना खान्छन्। शौचालयको सही प्रयोग गर्ने भएका छन् भन्छन् जनजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक इमबहादुर गुरुङ। बालबालिकालाई सिकाइको प्रभाव अत्यन्त राम्रो परेको बताउँदै उनीहरूले विद्यालय र घरमा समेत सचेत गराउने गरेको उनले बताए।

जापानिज रेडक्रस सोसाइटीका उपाध्यक्ष कोइचु ताकाहारी, उपनिर्देशक युकिको मियाजाकी र जापानिज स्वयंसेवी विभागका मारिना साइटु, रेडक्रसका निर्देशक सुदर्शन अधिकारीलगायतले गरेको परियोजनाको अनुगमनका क्रममा थापाले यसो भनेकी हुन्। जापानिज रेडक्रस टोलीलाई स्थानीयवासीले खुसी हुँदै स्थानीय उत्पादनले स्वागत गरेका थिए।

टोलीले बिरुवा गाउँपालिकाको वडा नं. १ स्थित नवज्योति मावि बिरुवाबजार र वडा नं. ७ स्थित जनजागृति आधारभूत विद्यालय तल्लोबलेउका विद्यालयको शौचालय, खानेपानी धारा, सरसफाइ गर्ने विधि, डस्टबिनको प्रयोगलगायतका बारेमा अन्तरसंवाद एवं निरीक्षण गरेको छ।

यसअघि पनि जापानिज रेडक्रसका निर्देशक डाइसाको फुजिएडा, जापानिज रेडक्रसका जुनियर ९ जना विद्यार्थी, २ जना शिक्षकसहित जम्मा ११ जनाको जापानिज टोलीले अनुगमनसहित नेपाल र जापानबीचको सांस्कृतिक कार्यक्रमको आदानप्रदान गरेका थिए।

परियोजनाले बिरुवा गाउँपालिकाका माध्यमिक विद्यालयलाई रु. ५० हजारदेखि ७५ हजारसम्म र आधारभूत विद्यालयलाई ३० हजारदेखि ४५ हजारसम्म खानेपानी तथा सरसफाइमा सहयोग गर्दै आएको परियोजना अधिकृत घनश्याम पौडेलले बताए।

समुदायमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमसहित शुद्ध खानेपानी, शौचालयको प्रयोग र प्रयोगपछि हात धुने तरिका, सफासुग्घर घरआँगन, जुठेल्नो तथा चाङ निर्माणमा समेत परियोजनाले सहयोग गर्दै आएको छ। परियोजनाका कामलाई वडा र गाउँपालिकाले पनि साझेदारी गर्दै आएको बताउँछन् वडा नं ७ का अध्यक्ष करण गुरुङ।

जापानिज परियोजनाको समाप्तिपछि पनि सफासुग्घरका क्षेत्रमा गाउँपालिकाले अभियानलाई निरन्तरता दिने जनाउँदै यस वर्ष पालिकाको बोर्ड बैठकले १५ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष थापाले जानकारी दिइन्। गाउँपालिकामा झन्डै पाँच हजार घरधुरी र २५ हजार जनसंख्या र चार हजार ४२ जना विद्यार्थी छन्।

Facebook Comments Box
TOP