‘एकदिन एक दाता’ अभियानले बृद्धाश्रम सञ्चालनमा सहजता

तोलाकान्त बगाले/वालिङ :

‘एकदिन एक दाता’ अभियानले बृद्धाश्रम सञ्चालनमा सहजता भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाममा रहेको शिव पार्वती बृद्धाश्रम तथा बहुृउद्धेश्यीय संस्थामा आश्रय लिनुभएका बृद्धबृद्धाको भोजन ब्यवस्थापनमा सहजता भएको शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्यीय संस्थाकी अध्यक्ष कविता गैह्रेले बताउनुभयो ।

“संस्थाले शिवपुराण महायज्ञ लगाएर थालनी गरेको बृद्धाश्रम निर्माण कार्यका लागि विभिन्न संघ संस्था तथा ब्यक्तिहरुको सहयोगले निर्माण गरेका हांै” अध्यक्ष गैह्रेले भन्नुभयो, “देशभरका बृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नुभन्दा पनि सञ्चालनमा कठिनाई देखिएकाले सहजताका लागि ‘एकदिन एक दाता’ अभियानको शुरुवात गरेका हौं जसले सञ्चालनमा सहजता भएको छ ।”

१६ कोठाको सुविधा सम्पन्न भवन निर्माण भएपनि बृद्धबृद्धाका लागि आवश्यक पर्ने दैनिक भोजनको ब्यवस्थापन गर्न समस्या परेपछि ‘एकदिन एक दाता’ अभियान सञ्चालन गरेसँगै समस्या टरेर गएको अध्यक्ष गैह्रेले बताउनुभयो ।

“भोजनका लागि आर्थिक अभावले समस्या परेको थियो” अध्यक्ष गैह्रेले भन्नुभयो, “एकदिन एक दाता अभियानको थालनीसँगै चालु आर्थिक वर्षको हालसम्म ८८ जनाले भोजनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।”

जन्मदिन, बैबाहिक वर्षगाँठ जस्ता शुभकार्य तथा दिवंगत आत्माको पुण्यतिथिका दिनमा कम्तिमा पनि रु. छ हजार दिएर यस अभियान सहभागी हुन पाईने नियम बनाएसँगै बृद्धबृद्धाको भोजनलाई सहयोग गर्ने दानबीरहरुको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो ।

स्याङ्जा र पाल्पाको संगमस्थल कालीगण्डकी नदीको किनारमा अवस्थित प्रसिद्ध धार्मिक तिर्थस्थलकारुपमा परिचित रामनदीधाममा पितृ कार्य गरी बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई एकदिनको भोजन गराउनका लागि कम्तिमा छ हजारदेखि माथि ईच्छा अनुसार दान दिने गरेकाले बृद्धाश्रम सञ्चालनमा सहजता भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

“फजुल खर्च तथा तडकभडकसहित जन्मदिन तथा बिबाह वर्षगाँठ मनाउनेहरु पनि आजभोलि बृद्धाश्रममा आएर जन्मदिन मनाउने पद्धतिको विकास हुँदै गएको छ” कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “जसले गर्दा बृद्धाश्रममा बस्दै आउनुभएका २० जना बृद्धबृद्धाको भोजन ब्यवस्थापनमा सहजता भएको छ ।”

स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, रुपन्देही, गुल्मी नवलपरासी लगायतका जिल्लाबाट आउने ब्यक्ति तथा संघसंस्थामार्फत यो अभियान अन्तर्गत प्राप्त भएको रकम स्थानीय रेडियो, टेलिभिजन तथा पत्रपत्रिका र सामाजिक सञ्जालहरुबाट सार्वजनिक गरेकाले पनि एकपछि अर्को दाताहरुले बृद्धाश्रमलाई सहयोग गर्न थाल्नुभएको कार्यालय प्रमुख श्रेष्ठको दावी छ ।

स्याङ्जासहित पाल्पा, कास्की, रुपन्देही, गुल्मी लगायतका जिल्लाबाट आएर बृद्धाश्रममा आश्रय लिएर बस्नुभएका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । बृद्धबृद्धाको दैनिक स्वास्थ्य परीक्षणका लागि बृद्धाश्रममै उपस्वास्थ्यचौकी स्थापना गरिएको छ जसले गर्दा आवश्यक औषधी तथा परामर्शको सहज ब्यवस्थापन भएको छ ।

बृद्धाश्रममा विभिन्न सरकारी संघ संस्था तथा ब्यक्तिहरुले अन्य उपकरणहरु, लत्ताकपडा, तातो चिसो खानेपानी फिल्टर लगायतका सामग्रीहरु सहयोग गर्नुभएको छ भने अक्षयकोषहरु पनि सञ्चालनमा छन् ।

बृद्धबृद्धाको स्याहार तथा सरसफाईका लागि पाँच जना कार्यालय सहयोगी राखिएको संस्थाका उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो ।

बृद्धबृद्धाहरुले टेलिभिजन हेर्ने, सामूहिकरुपमा भजन किर्तन गर्ने, लाखबत्ती काट्ने जस्ता कार्यहरु गरेर दिन बिताउँदै आएका उपाध्यक्ष खनालले बताउनुभयो ।

Facebook Comments Box
TOP