पुतलीबजार-फोहोरमैला ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकाले फोहोरमैला ब्यवस्थापन सम्बन्धी पैरबी एवं क्षमता विकास कार्यक्रम आइतवारदेखि सुरु गरेको छ । समृद्ध पुतलीबजार सुखी नगरवासी एवं पुतलीबजार नगरबासीको रहर सभ्य, स्वच्छ हराभरा सुन्तलाको शहर भन्ने नाराका साथ नगरपालिकाले फोहोरमैलालाई आर्थिकोपार्जनसंग जोडिने अभियान संचालन गरेको हो ।
६ दिनसम्म संचालन हुने सो कार्यक्रमको उदघाटन एवं झोला हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले आफु र आफना घरबाट निस्कने फोहोरमैलाको ब्यवस्थापनको जिम्मा आफैंले लिनुपर्नेमा जोड दिनुभयो ।
साथै प्रमुख सुन्दासले फोहोरमैला न्यूनिकरण गर्न प्लाष्टिकका झोलकाका बिकल्पका रुपमा प्रयोग गरिने झोला वडा १ का अध्यक्ष निर्मल शेरचनलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका सचिवालय सदस्य उदय श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, राप्रपाका सचिव एवं पूर्व नगरप्रमुख जयनारायण श्रेष्ठ , प्रहरी उपरीक्षक जनादर्दन जिसि लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं फोहोरमैला ब्यवस्थापन समितिका संयोजक विश्वेश्वरप्रसाद रेग्मीले धन्यवाद र फोहोरमैला ब्यवस्थापन शाखा प्रमुख धनप्रसाद कोइरालाले संचालन गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले फोहोरमैला ब्यवस्थापन सम्बन्धी जानकारी र कौशीखेती, कम्पोष्ट र गड्यौला मल सम्बन्धी ऋषिराम पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


नगरपालिकाले आइतवारदेखि नगरका मुख्य बजारका वडा नं. १, २, ३, ४, १० र ११ का वडाहरुमा क्रमश ः ११ गतेसम्म निरन्तर यस्तै किसिमका कार्यक्रम संचालनगर्ने जनाएको छ । फोहोरमैला ब्यवस्थापन, कम्पोष्ट मल उत्पादन, बर्गिकरण लगायत बिबिध पक्षका बारेमा नगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीलाई प्रशिक्षण दिएको छ ।

Facebook Comments Box
TOP