पारसले कप्तानी गरेको चितवनलाई पीपीएल उपाधि

PPL-Final_2019-2

पोखरा – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि हात पारेको हो ।

उपाधिसँगै चितवनले २७ लाख नगद राशी पाउने छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्ने छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २ सय २ रनको योगफल खडा गरेको थियो ।

लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमै समेटियो । पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पारेको हो ।

चितवनको जितका लागि रोहन मुस्ताफा र अनिलकुमार शाहले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । दुईजनाको ९५ रनको साझेदारीले चितवनले सम्मानजनक योगफल बनाउन सक्यो । अनिललाई १६ ओभरको पहिलो बलमा र रोहनलाई सोही ओभरको चौथो बलमा समान ५० रनमा रोक्दै विराटनगरका पुनित मेहराले साझेदारी तोडेका थिए ।

कप्तान पारस खड्काले २५ रन, आरिफ शेख १९ रन र बाबर हायत ५ रनमा आउट हुन पुगे । करण केसी २६ रन र सन्नी पटेल १६ रनमा अविजित रहे । बलिङ तर्फ पुनित मेहरा र मुहम्मद जाइद आलमले समान २/२ विकेट लिँदा किशोर महतोको नाममा १ विकेट लिन सफल भएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएका ओपनिङ ब्याट्सम्यान मुहम्मद जाइद आलमको अर्धसतकीय पारीले विराटनगरलाई जिताउन सकेन् । उनले ४८ बलमा ५७ रन बनाएर रोहन मुस्ताफाको बलमा भुवन कार्कीको हातबाट आउट हुन पुगे ।

कप्तान प्रदीपसिंह ऐरीलाई ३६ रन र दीलिप नाथलाई खातै खोल्न नदिई चितवनका करण केसीले १९ औं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गराए । पुनित मेहरा ३२, सुनिल धमाला ४, लोकेश बम १ र नोमान खान १८ रनमा आउट भए । पुष्प थापा ३ र जितेन्द्र मुखिया ७ रनमा अविजित रहे ।

बलिङ तर्फ करण केसी सर्वाधिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रह्यो ।

Facebook Comments Box
TOP