कार्किनेटा–नौडाँडा सडक कालोपत्रेका लागि संघिय सरकारद्धारा ६ करोड ४० लाख विनियोजन

आँधीखोला खबर : स्याङ्जा र पर्बत जिल्लाको महत्वपूर्ण नाकाको रुपमा रहेको कार्किनेटा–नौडाँडा सडकका लागि संघिय सरकारले बजेट विनियोजन गरेको छ । सडक स्तरोउन्नती गर्दै कालोपत्रे गर्ने प्रयोजनका लागि संघिय सरकारले समपुरक कोषबाट रकम विनियोजन गरेको हो ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको बजेट विवरणमा नौडाँडा–कार्किनेटा सडकका लागि कुल ६ करोड ४० लाख रुपैंया विनियोजन गरिएको छ । चालु आर्थिक बर्षमा रकम खर्च हुने गरी समपुरक अनुदान मार्फत उक्त रकम विनियोजन भएको हो । दुई जिल्ला जोड्ने सडकको रुपमा रहेको उक्त सडक विगत केहि बर्ष पहिले कालोपत्रे भए पनि अधिकांश भाग खण्डहर बनेको छ ।

सडक विग्रेसंगै पर्वत जिल्लाको महाशिला र फलेवास क्षेत्रबाट छुट्ने सवारीहरुको यात्रा कष्टकर बन्दै आइरहेको छ । महशिला र फलेवास क्षेत्रबाट प्रदेश मुकाम पोखरा जानका लागि यो सडक छोटो हुने गर्दछ । सडक सञ्जालको शुरुवात नहुँदै पर्वत र बागलुङ जिल्लाबासीले यहि क्षेत्र हुँदै बुटवलबाट नुन र अन्य खाद्यन्न सामाग्रीहरु किनमेलका लागि प्रयोग गर्ने गरेका थिए ।

सडक खनिएको लामो समयसम्म पनि यो सडकको पुरै खण्ड स्तरोउन्नती हुन सकिरहेको थिएन । सडकको पुरै भाग कालोपत्रे हुँदा यात्रा थप सहज हुने फलेवास नगरपालिकाका प्रमुम पदमपाणी शर्मा बताउँछन । यसै सडकको हिलेखोला देखि कार्किनेटासम्मको सडक कालोपत्रेको काम भने शुरुवात भईसकेको छ । प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेतले उक्त सडकको शिल्यान्यास गरेका हुन ।

Facebook Comments Box
TOP