गल्याङमा मसलाबाली जोन कार्यक्रम कार्यान्वयनका लागि सञ्चालक समिति गठन

आँधीखोला खबर/गल्याङ :
गल्याङ नगरपालिकामा मसलाबाली जोन कार्यक्रम कार्यान्वयनका लागि सञ्चालक समिति गठन भएको छ । नगरपालिकामा मसलाबाली कार्यक्रम कार्यान्वयन गर्नका लागि नौ सदस्यीय सञ्चालक समिति गठन भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन इकाइ स्याङ्जाले गल्याङमा आज कार्यक्रम गरी सञ्चालक समिति तथा सल्लाहकार समिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
जोन सञ्चालक समितिको संयोजकमा वडा नम्बर तीनका हिमलाल भण्डारी चयन हुनुभएको छ । त्यस्तै उप संयोजकमा वडा नम्बर ११ बाट सपना अधिकारी र सचिवमा वडा नम्बर नौ बाट कोपिला कोइराला चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा वडा नम्बर सातबाट अग्नी न्यौपाने तथा सदस्यहरुमा वडा नम्बर चारबाट मनोज थापा, वडा नम्बर दशबाट शालिकराम थापा, वडा नम्बर २ बाट दिलु थापा र वडा नम्बर आठ बाट शेरबहादुर सार्की चयन हुनुभएको छ ।
यसैगरी सात सदस्यीय सल्लाहकार समितिको संयोजकमा वडा नम्बर तीन बाट चिन्तामणी अर्याल चयन हुनुभएको छ । सदस्यहरुमा वडा नम्बर एक बाट पम्फा तिवारी र खुमकान्त बस्याल, वडा नम्बर चार बाट रुक्मागत न्यौपाने, वडा नम्बर पाँच बाट धनबहादुर दर्लामी र टोकराज पाण्डेय तथा वडा नम्बर छ बाट सिता चापागाई चयन हुनुभएको छ ।
समिति गठन कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानले लगाएको अदुवा विक्रीको ग्यारेन्टी नगरपालिकाले लिने बताउनुभयो । उहाँले अन्य सबै क्षेत्रको बजेट कटाएर भएपनि किसानले लगाएको अदुवाको लागत मुल्यको दोब्बर मुल्यमा नगरपालिकाले खरिद गर्ने बताउनुभयो ।

दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गल्याङ नगरपालिकाका किसानका लागि गरेको भन्दै उहाँले ३०/४० हजार रुपैयाँ मासिक कमाउन अब विदेश जानु नपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन ईकाई स्याङ्जाका प्रमुख बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले गल्याङमा मसलाबाली जोनका लागि अब छिट्टै कर्मचारीको व्यवस्थापन गरी काम सुरु हुने बताउनुभयो ।
यो वर्ष इकाईबाट ४५ लाख रुपैयाँ बराबरको कार्यक्रम रहेको जानकारी दिदै उहाँले विउमा ५० प्रतिशत अनुदान, सिंचाई, कृषि औजार लगायतका क्षेत्रमा पनि कार्यक्रम रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा दलबहादुर सिंजालीले मसलावाली कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपर जोन कार्यान्वयन ईकाई स्याङ्जाका कृषि प्राविधिक इन्द्र सुबेदीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…