बिरुवा गाँउपालिका : परियोजना संचालनपछि सरसफाईमा उल्लेख्य सुधार

भवानी अधिकारी/स्याङजा :
सरसफाईका सम्बन्धमा पछि परेको भन्दै सचेतनाका कार्यक्रम संचालनमा ल्याइएको बिरुवा गाउँपालिकाले सरसफाईमा उल्लेख्य परिवर्तन देखिएको छ । जापानीज रेडक्रसको सहयोगमा ३ बर्षे परियोजना संचालनमा ल्याइएपछि गाउँपालिकाले सरसफाईका क्षेत्रमा उल्लेख्य परिवर्तन देखिएको हो ।
नेपाल रेडक्रस र स्याङ्जा रेडक्रस सोसाइटीको आयोजना र जापानीज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा स्याङ्जाको बिरुवा गाउँपालिकामा खानेपानी तथा सरसफाई परियोजना यहाँ संचालनमा छन ।


गाउँपालिकाका ३४ वटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालयमा अन्तराष्ट्रिय युवा समन्वय परियोजना कार्यक्रम सञ्चालन गरिएको छ । सो परियोजना सन् २०१७ देखि संचालन भईरहेको हो । परियोजनाले गाउँपालिका भित्र रहेका ३५ वटै विद्यालय र त्यस अन्तर्गतका समुदायमा शौचालय निर्माण, खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आएको रेडक्रस स्याङ्जाका सभापति भुबनबहादुर क्षेत्रीले जानकारी दिए ।
जापानीज जुनियर तथा युवा रेडक्रसका विद्यार्थीले खाजाको रकमबाट दैनिक १ रुपैया जम्मा गरी संकलित सो रकमले विरुवा गाउपालिकाका बिद्यालयमा सरसफाई सम्बन्धी परियोजना संचालनमा ल्याइएको हो । स्याङ्जा रेडक्रस मार्फत गाउपालिकाका बिभिन्न बिद्यालयमा ३ वर्षको लागि सहयोग गरिएको रेडक्रसका मन्त्री दिनेश अर्यालले जानकारी दिए । गाउपालिकामा संचालित परियोजनाको जापानीज रेडक्रस टोलीले पटक ÷ पटक अनुगमन एवं स्थानीयबासीसंग अन्र्तक्रिया गरेका छन् ।
परियोजनासुरुको अवस्था र अहिलेको अवस्थासम्म धेरै परिवर्तन भएको बताउछिन गाउपालिकाका उपाध्यक्ष देवी थापा । गाउपालिकाले सफासुग्घर बनाउने अभियानलाई निरन्तरता दिने जनाउदै यसबर्ष पालिकाको वोर्ड बैठकले १५ लाख रुपैंया बिनियोज नगरेको पनि उनले जानकारी दिईन ।
तीन बर्षे परियोजना अब माघ महिनामा सकिदैछ । जापानीज रेडक्रस सोसाइटीका उपाध्यक्ष कोइचु ताकाहारी, उपनिर्देशक यूकिको मियाजाकी र जापानीय स्वयंसेवी बिभागका मारिना साइटु, स्याङ्जा जिल्ला शाखाका सभापति भुवनबहादुर पौडेल, मन्त्री दिनेश अर्याल, रेडक्रसका निर्देशक सुदर्शन अधिकारी, गाउँपालिकाका उपाध्यक्ष देवी थापा, स्थानीयबासी लगायतले अनुगमन, निरीक्षण एवं अन्र्तक्रिया गरे ।


टोलीले विरुवा गाउपालिकाको वडा नं. १ स्थित नवज्योती मावि बिरुवा बजार र वडा नं. ७ स्थित जनजागृति आधारभूत बिद्यालय तल्लोबलेउका बिद्यालयको शौचालय, खानेपानी धारा, सरसफाई गर्ने बिधि, डस्टवीनको प्रयोग लगायतका बारेमा अन्र्तक्रिया एवं निरीक्षण गरिएको छ ।
यसअघि पनि दुई पटक परियोजनाको मध्यावधी अनुगमनका लागि जापानीज रेडक्रसका डाइरेक्टर डाईसाको फुजिएडा, कर्मचारी मुसिवी, नेरेसो जुनियर तथा युवा रेडक्रसका निर्देशक सुदर्शन अधिकारी, गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, स्याङ्जा जिल्ला शाखाका सभापति भुवनबहादुर पौडेल, मन्त्री दिनेश अर्याल, शिक्षक, बिद्यार्थी तथा समुदायका अगुवा टोलीले मध्यावधी अनुगमन गरिसकेका छन् ।
त्यसपछि, जापानीज ९ जना विद्यार्थी, २ जना शिक्षक सहित जम्मा ११ जनाको जापानीज टोलीले अनुगमन सहित नेपाल र जापानबीचको सास्कृतिक कार्यक्रमको आदानप्रदान गरिएको थियो । यो परियोजनाले बिरुवा गाउँपालिकाका माध्यमिक विद्यालयलाई रु. ५० हजार देखि ७५ हजारसम्म र आधारभूत विद्यालयलाई ३० हजार देखि ४५ हजारसम्म खानेपानी तथा सरसफाईमा सहयोग गर्दै आएको परियोजना अधिकृत घनश्याम पौडेलले बताए ।
समुदायमा सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम सहित शुद्ध खानेपानी, शौचालयको प्रयोग र प्रयोगपछि हात धुने तरिका, सफासुग्घर घर आँगन, जुठेल्नो तथा चाङ निर्माणमा समेत परियोजनाले सहयोग गर्दै आएको छ । परियोजनाका कामलाई वडाले पनि सहयोग गरेको छ । बालबालिकाको ब्यवहारमा निकै परिवर्तन देखिएको छ । सरसफाईमा उनीहरु सचेत भएका छन । वालबालिकाले सिके अनि परिवारलाई पनि सिकाएका छन् भन्छन वडा नं ७ का अध्यक्ष करण गुरुङ ।

Facebook Comments Box
TOP