ताप्केका १७० घरधुरीमा एक घर एक धारा, स्थानीय हर्षित

तोलाकान्त बगाले/वालिङ :
सदियौंदेखि खानेपानीको समस्यामा अल्झिएका वालिङ ७ ताप्केका १७० घरधुरीमा एक घर एक धारा पुगेसँगै स्थानीय हर्षित छन् ।
खानेपानी तथा पशु चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयलाई पिठ्यूमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ ७ का वडा अध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो ।
“एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तिमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो” वडा अध्यक्ष थापाले भन्नुभयो, “योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै वचत भएको समयलाई अन्य कार्यमा लगाउन सकिने भएको छ ।”
गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी बिद्युतको सहाराबाट तानेर गाउँभन्दामाथि रहेको ट्याङ्कीमा संकलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।
२०७५ फागुनबाट निर्माण कार्य शुरु भएको उक्त योजना २०७६ असार मसान्तमा सम्पन्न भई शुक्रबारमात्रै उद्घाटन गरिएको हो ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाई आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारको रु. एक करोड अठार लाख र जनश्रमदान रु. तेत्तीस लाख १४ हजार गरी कूल रु. एक करोड ५१ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष थापाले बताउनुभयो ।
उक्त खानेपानी पाईपमार्फत घर घरमा जडान गरी धारा सञ्चालनमा आएसँगै एकसय ७० घरधुरीका एघार सय एक जना प्रत्यक्ष लाभान्वित भएका आयोजनाका सचिव लक्ष्मी रानाले बताउनुभयो ।
खानेपानी योजना मर्मत सम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाले बताउनुभयो ।
“पिठ्यूमा डोको बोकेरै पानीका लागि दैनिक ४÷५ घण्टा समय बित्ने गरेको थियो” आयोजनाका सचिव रानाले भन्नुभयो, “अब पानी घर घरमै आएपछि बचत भएको समयलाई उत्पादनसँग जोडेर आय आर्जनतर्फ केन्द्रीत हुने छौं ।”
गाउँमा रहेका प्रत्येक घर–घरमा धारा निर्माण भई खानेपानी प्राप्त भएपछि स्थानीय हर्षित छन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…