गाउँपालिकाका अध्यक्षलाई विद्यार्थीको गुनासो : शिक्षकको सरुवा भईरह्यो, पढाई राम्रो हुन सकेन ।

आँधीखोला खबर/फेदीखोला:
गणित र विज्ञान विषयका शिक्षकहरु शैक्षिक सत्रको बिच बिचमा सरुवा भइराख्ने समस्याले अध्ययन अध्यापनमा समस्या आएको छ ।’ विद्यार्थी, अभिभावक र शिक्षकको समस्या सुन्न फेदीखोला गाउँपालिकाले आयोजना गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका सहभागी अधिकाँश विद्यार्थी र अभिभावकको गुनाशो थियो । उनीहरुले अध्यापन विधि प्रभावकारी बनाउन समेत माग गरे । शिक्षा क्षेत्रमा गुणस्तरियता बढाउन सञ्चालित विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत बुधबार गाउँपालिकाको वडा नं. ४ आरुखर्क मा तेस्रो संस्करण गरिएको थियो । गलेमको शितला माध्यमिक विद्यालय र खामुहालेको सरस्वती आधारभुत विद्यालयका झण्डै १ सय जना विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले खुलेर आ—आफ्ना गुनाशा राखेका थिए ।

‘एक बर्ष भित्र नै शिक्षकहरु फेरबदल हुनाले निरन्तर पढाईमा बाधा पुग्दै आएको छ ।’ शितला माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्तोष लामिछानेले गुनासो गर्नुभयो । साथै आर्थिक अभावका कारण आफ्नो घरमा विद्युत जडान हुन नसकेको भन्दै पढ्न समस्या भएको उहाँले बताउनु भयो । कक्षा १० मा अध्ययनरत विद्यार्थी यशोदा नेपालीले साना देखि ठूला कक्षामा केही शिक्षकहरुमा मित्रवत व्यवहारको कमी रहेकाले त्यसलाई सुधार्न गाउँपालिकाले आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । ‘केही शिक्षकहरुले परम्परागत तवरमै ठाडो व्यवहार गर्छन् ।’

विद्यार्थीमैत्री वातावरण सृजना गर्न सके शिक्षकसँग चाँडो घुलमिल गर्न सकिने उहाँको तर्क थियो । कक्षा ९ मा अध्ययनरत सृष्टि पौडेल र अनिता पौडेल, कक्षा ८ मा अध्ययनरत सौरभ ढकालले अतिरिक्त क्रियाकलापका लागि पुर्वाधार अभाव भएको समस्या प्रकट गरे । कक्षा ८ मा अध्ययनरत सन्ध्या विकले आधारभुत तहको परीक्षा केन्द्र टाढा भएकाले कठिनाई आइपरेको गुनाशो गर्नुभयो । कक्षा ७ मा अध्ययनरत पोतराज पौडेलले केही शिक्षकहरु कक्षामा ढिलो आउने र समय अगावै बाहिर निस्कने समस्या रहेको पढाइमा असुविधा रहेको बताउनुभयो । कक्षा १० कि सविना गुरुङले शिक्षकले पनि विद्यार्थीले जसरी पोशाक लगाउनुपर्ने बताउनु भयो ।
अभिभावक छवि पौडेलले प्रधानाध्यापकको अनुपस्थिती रहेको समयमा पनि शिक्षकहरुको कार्यतालिका व्यवस्थित बनाउन माग गर्नुभयो । साथै इन्टरनेटको सदुपयोग भन्दा दुरुपयोग भएको भन्दै शिक्षण सिकाईमा इन्टरनेट प्रयोग गर्न उहाँको सुझाव थियो । अर्का अभिभावक राजकुमार ढकालले महिला शिक्षकले ९८ दिनको सुत्केरी विदा दिँदा वैकल्पिक शिक्षकको व्यवस्था हुनुपर्ने बताउदै शिक्षकलाई कार्यसम्पादन अनुसार दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सुब्दार आइबहादुर गुरुङले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने, नयाँ शिक्षकलाई तालिम दिनुपर्ने र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
शिक्षकले विदा लिदा अर्को शिक्षकले पढाउने व्यवस्था गरेको र सो कक्षा लिएबापत प्रति पिरियड रु ३० प्रोत्साहन भत्ता विद्यालयको नीजि स्रोतबाट ब्यहोर्ने गरिएको विद्यालयको सकरात्मक पक्ष देखिएको छ ।

शितला मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर डिलबहादुर गुरुङले विद्यार्थी, विद्यालय र गाउँपालिकाको त्रिकोणात्मक सम्बन्धले शैक्षिक गुणस्तरीयतामा तिब्रता दिन सकिने धारणा राख्नुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै विद्यार्थीसंग नजिकिएर समस्याको जड पत्ता लगाउन कार्यक्रम सञ्चालनमा आएको बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले विद्यार्थीको समस्या यथाशिघ्र समाधानको बाटोमा लैजान विद्यालय प्रशासनलाई निर्देशन दिनुभयो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विद्यार्थीसँग अध्यक्ष कार्यक्रमले शैक्षिक समस्या नजिकैबाट नियाल्ने अवसर पाएको र शैक्षिक सुधारका लागि गाउँपालिका एक्सनमा तत्काल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै विद्यालयको भौतिक पुर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन समेत दिनुभयो । वडा नं. ४ का वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक माधवप्रसाद शर्मा सुवेदीको संयोजकतामा सम्पन्न कार्यक्रमको सञ्चालन शितला माविका प्रधानाध्यापक तुलसीराम पौडेलले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
२ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…