गल्याङ : मकै र धानमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा ।

केपी खनाल/ गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकामा लगाइएको बेमौसमी मकै खेतीमा देखिएको अमेरिकी फौजी किरा नियन्त्रणमा आएको छ ।
नगरपालिकाका कृषि प्राविधिकको पहलमा अमेरिकी फौजी किराको प्रकोप नियन्त्रणमा आएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख शिब ढकालले मकैका बोट कलिलै अवस्थामा भएकाले अमेरिकी फौजी किरा नियन्त्रण गर्न सकिएको बताउनुभयो । असोज २३ गते शाखा प्रमुख ढकाल सहितको टोलीले रोग प्रभावित मकै लगाइएको क्षेत्रमा पुगेर मकैमा लागेको रोग पत्ता लगाइएको थियो । ढकालले मकैमा लागेको रोग अमेरिकी फौजी किरा भएको पत्ता लागेपछि नियन्त्रणको प्रयास भएको बताउनुभयो । नगरपालिकाका कृषि प्राविधिकहरु गिरिराज रेग्मी र सविता पाण्डेले किटनासक विषादी प्रयोग गरेर मकैमा देखिएको फौजी किरा नियन्त्रण गरिएको हो ।


समयमै अमेरिकी फौजी किराको प्रकोप पहिचान भएकाले नियन्त्रण गर्न सकिएको प्रमुख ढकालले बताउनुभयो । आगामी वर्ष ‘पुस एण्ड पुल’ पद्दतिबाट मकै लगाई रोग लाग्न नदिने व्यवस्था गरिने उहाँले बताउनुभयो । ढकालका अनुसार पुस एण्ड पुल सिद्धान्त अनुसार नेपियर र डेस्मोडीयम घास प्रयोग गरि किरा नियन्त्रण गरिनेछ ।

उहाँले भन्नुभयो –‘मकै को बिचमा डेस्मोडिएम घाँस र ओर पर नेपिएर घाँस लगाउने प्रविधि हुन्छ, जस्मा डेस्मोडिएम घास को गन्धले किरा मकैबाट पर भाग्छ र वरपर लगाएको नेपिएर घाँसमा अन्डा पार्छ । यसरि मकैमा किराको प्रकोप कम हुन्छ ।’
यसैवीच, गल्याङ नगरपालिका वडा नम्बर सात छाम्माटेमा किसानले लगाएको धानबालीमा देखिएको फौजी किरा पनि नियन्त्रण गरिएको छ । यस ठाउँमा देखिएको जिवाणु अमेरिकी फौजी किरा नभई फौजी किरा मात्रै रहेको कृषि अधिकृत तथा नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालले जानकारी दिनुभयो ।


कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा दिएको स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुको समस्या समाधानका लागि दक्ष कृषि प्राविधिक तथा पशु प्राविधिकको व्यवस्था गरेको छ । तरकारी खेती, अन्य खेती तथा पशुमा रोग देखिएमा नगरपालिकाबाट तुरुन्तै उपचारको व्यवस्था भएपछि किसानहरु उत्साहित भएका छन् ।

Facebook Comments Box
TOP