मन्त्री अर्यालको उपस्थितीमा दश लाखको कलाकार कल्याणकारी कोषको घोषणा ।

आँधीखोला खबर/वालिङ :
नेपाल लोकदोहोरी प्रतिष्ठान स्याङ्जाले दश लाखको कलाकार कल्याणकारी कोषको घोषणा गरेको छ । शनिवार वालिङमा आयोजना गरिएको बृहत सांस्कृति कार्यक्रमका अवसरमा कोषको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालले गण्डकी लोक संस्कृतिमा बिबिधतायुक्त प्रदेश भएको बताउनु भयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको संस्कृति देशमा नै अग्र स्थानमा पर्दछ ।”


स्याङ्जा कलाकारहरु जन्माउने उर्बर भुमी भएको भन्दै मन्त्री अर्यालले स्याङ्जाका कलाकारहरु देशमा नै अग्र स्थानमा आउने धारणा राख्नुभयो । कलाकारहरुले समग्र समाज र देशलाई नै परिवर्तन गराउन सक्ने मन्त्री अर्यालको तर्क छ ।
कलाकारको हितका लागि स्थापना गरिएको कल्याणकारी कोषको लागि आफ्नो तर्फबाट पुर्ण सहयोग रहने मन्त्री अर्यालले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, नेत्र खड्का लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरु पुरुषोत्तम न्यौपान, गोपाल जिटी लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा पुरुषोत्तम न्यौपाने, रमेश विजी, रामजी खाँड, शर्मिला गुरुङ, दुर्गा गुरुङ, शिव हमाल, राजु गुरुङ, घनश्याम रिजाल, प्रिती आले, शङ्कर विरही गुरुङ, राजन कार्की लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो ।
प्रतिष्ठान स्याङ्जाका अध्यक्ष श्रषि डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन प्रतिष्ठानका केन्द्रिय सदस्य घनश्याम रिजालले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP