लक्ष्मी कार्की शैक्षिक छात्रबृत्ती कोषबाट २ बालिकालाई जनही २० हजार पुरस्कार ।

भवानी अधिकारी/स्याङजा:
आँधीखोला गाउँपालिका ४ बाङसिङ स्थित श्रवण माध्यमिक बिद्यालयमा स्थापित लक्ष्मी कार्की शैक्षिक छात्रबृत्ती कोष बितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सधिरकुमार पौडेलले सोही बिद्यालयमा कक्षा ११ मा अध्ययरत प्रतिक्षा लामिछाने र रिहा सुनारलाई जनही २०/२० हजार रुपैया प्रदान गर्नुभएको हो ।
छात्रबृत्ती रकम हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले आर्थिक अभावका कारण अध्ययनबाट बंचित हुन नपरोस भन्ने उदेश्यले स्थापित अक्षयकोषबाट गरिब, जेहेन्दार बिद्यार्थी लाभान्वित हुने बताउनुभयो । साथै, उहाले रोटरी क्लव अफ महाराजगंजका सदस्य प्रभात योञ्जनले आफना धर्म दिदी लक्ष्मी कार्कीको स्मृतीमा स्थापित सो रकम रहेको जानकारी गराउनुभयो । कोषले प्रत्येक बर्ष २ जनालाई जनही २०/२० हजार नगद उपलब्ध गराउनेगरी यसबर्षदेखि अभियान सुरु गरेको हो ।


छात्रबृत्ती हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका १ का अध्यक्ष निर्मलकुमार शेरचन, बिद्यालयका प्रधानाध्यापक हरिनारायण लामिछाने, शिक्षक देवनाथ लामिछानेले लगायतले बिद्यालयको गुणस्तरीय शिक्षाका लागि बिद्यालय परिवारमात्र जिम्मेवार र सक्रिय भएर नपुग्ने बताउदै सबैको सहयोग भएमा बिद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउनेमा जोड दिनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेलले बिद्यालयमा धेरै किसिमका सहयोगहरु बढेको बताउदै छात्राछात्राका आर्थिक अवस्था हेरेर मितब्ययीरुपले प्रदान गरिने बताउनुभयो ।
यसैगरी, आँधीखोला गाउपालिका वडा नं. ४ का अध्यक्ष चिन्तामणी पौडेलले आफना बुवाको ३६ औं श्राद्धको दिन पारेर बिद्यालयमा अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । आफना बुवा टिकाराम उपाध्याय र आमा टोपली उपाध्यायको नाउमा स्थापित अक्षयकोष बिद्यालयले शैक्षिक उन्न्यनका निम्ति खर्च गर्न सक्नेगरी अक्षयकोष स्थापना गरेको पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले ५५ हजार ५ सय ५५ रुपैंयाको चेक बिद्यालयमा आयोजित कार्यक्रमका बिच बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments Box
TOP