गल्याङ नगरपालिकामा “बालबालिका सँग नगरप्रमुख कार्यक्रम” ।

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकाले बालबालिकासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने भएको छ । गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको भानुभक्त आचार्य माध्यमिक विद्यालयको अनुगमनको क्रममा गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले यस्तो जानकारी दिनुभएको हो ।
नगरप्रमुख अधिकारीले बालबालिकाका समस्याबारे जानकारी लिन र बालबालिकालाई सभ्य बाटोमा लैजान यस्तो कार्यक्रम ल्याउन लागिएको स्पष्ट पार्नुभयो । उहाँले बालबालिकाले नै समाज परिवर्तन गर्न सक्ने र भोलिको समाजलाई कता लैजाने भन्ने कुराको निक्र्यौल गर्न सक्ने भएकाले बालबालिकालाई असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले आफु निर्वाचित भएपछि पहिलोपटक अनुगमनको काम सुरु गरेको भन्दै अब शिक्षाको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो —‘कितावको शिक्षा त लिनुपर्छ नै तर अब समाजलाई बदल्ने खालको शिक्षा पनि आवश्यक छ ।’ नगरप्रमुख अधिकारीले नगरपालिकाको तर्फबाट पनि स्थानीय स्तरमा पाठ्यक्रम बनाउने तयारी भैरहेको जानकारी दिनुभयो ।
बालबालिकाहरु कुलतमा फस्ने गरेको भन्दै उहाँले यसबाट जोगाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो —‘सबैले म ठूलो भन्ने अहमता छ, त्यो हटाउनुपर्छ । मुख्य कुरा काम ठूलो हो ।’ अनुगमनपछि उहाँले विद्यालयका शिक्षकहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो ।
अन्तरक्रियामा उहाँले शिक्षकहरुलाई समयको परिपालना गर्न र विद्यार्थीहरुलाई उचित संस्कार पनि दिन आग्रह गर्नुभयो ।
गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले अनुगमनको काम भानुभक्त आचार्य मावि बाट सुरु गरिएको भन्दै अब यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो । शिक्षा समिति सदस्य राजेन्द्रदेव खनालले विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रामकान्त पाठकले विद्यार्थीको लागि एउटा बसको व्यवस्था गर्न माग गर्नुभयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…