विराट शिला शालिग्राम र रामनदीधाम रामदीमा विहानै देखि भक्तजनको भिड

नारायण विश्वकर्मा :

हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेष रुपले पूजा गरी विवाह गरिदिने चलन पनि छ ।

आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्ल पक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् ।

आज स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थल सेतीवेणीमा अवस्थित कालीगण्डकीमा स्नान पुजा र दर्शन, विश्व विराट शिला शालिग्रामको पुजा एवं दर्शन गर्नेहरुको विहानै देखि भिड लाग्ने लागेको छ ।

त्यस्तै स्याङ्जा र पाल्पाको सिमानामा अवस्थित रामनदी धाम राम्दीमा र गुल्मी र पाल्पाको संगम रेडीमा पनि कालीगण्डकी स्थानन तथा पुजा गर्नेहरुको विहानै देखि भिड लागेको छ । जिल्लामा रहेका विभिन्न विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।

त्यस्तैआज हरिवोधनी एकादशीका अवसरमा उत्तरवाहीनी क्षेत्र मालुङ्गामा रम्भा गाउँपालिका पाल्पाले प्रथम कालीगण्डकी महोत्सव तथा भजन प्रतियोगिता २०७६ को आयोजना गरेको छ ।

Facebook Comments Box
TOP