स्याङ्जाका पौडेलले किने झण्डै ३ लाखमा एउटा बोयर बोका।

एउटै बोकाको मूल्य करिब रु तीन लाख परेको सुन्दा अचम्म लाग्नसक्छ । तर, यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् ।

बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत ६ वर्षदेखि व्यावसायिकरुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताए ।

उनले सन्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगन्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका रू दुई लाख ९० हजार खर्चिएर खरिद गरेको जानकारी दिए ।

रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् ।

स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अष्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए ।

विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई रू एक लाखदेखि रू दुई लाखसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए ।

अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्‍याउन कठिन भएको उनले जानकारी दिए ।

छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

सामान्यतया ६ महिनासम्मका बोयर पाठापाठी ३० किलोसम्मका हुने गर्छन् । किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् ।

सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक वृिद्ध, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र स्थानीय हावापानीअनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । रासस

Facebook Comments Box
TOP