यमपञ्चक शुरु, शुक्रबार यम दीपदान

यस वर्षको तिहार अर्थात् यमपञ्चक शुक्रबारदेखि शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु भएको जनाएको हो । शुक्रबार यम दीपदान हुँदैछ । 

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यसअघि नै विज्ञप्ति जारी गर्दै कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको थियो ।

समितिका अनुसार कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा र कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिले जनाएको छ।

समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि तिहार पर्वको सम्बन्धमा निर्णय गरेको बताएको छ । समितिले भ्रममा नपरी १२ गते नै भाइटीका लगाउन आग्रह गरेको छ । 

कात्तिक १२ मा टीका १३ मा सार्वजनिक बिदा

नेवार समुदायले १२ गते म्ह पूजा गर्ने र १३ गते किजापूजा (भाइटीका) गर्ने भनी सरकारलाई बताएपछि सरकारले यसबारेमा कुरा सुन्दै १३ गते पनि सार्वजनिक बिदा दिएको छ । 

मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै संचारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार उक्त जानकारी दिएका हुन् । गृहमन्त्रालयले पनि १३ गते सार्वजनिक बिदा दिएको विज्ञप्ति जारी गरेको छ ।

नेवार समुदायले १३ गते टीका लगाउने भने पनि उनीहरुबीच पनि विवाद देखिएको छ । जसले पञ्चांग निर्णायक समितिको निर्णय मान्छन् उनीहरुले १२ गते नै टीका लगाउने छन् । 

Facebook Comments Box
TOP