उपभोक्ता सचेतना कार्यक्रम : उपभोक्ताको हितका लागि प्रतिबद्ध छौं- नगर प्रमुख खाँण ।

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिकामा मंगलबार नगरपालिकास्तरीय उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

वालिङ नगरपालिकाको आयोजना, उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोग तथा अष्ट्रेलियन एड र द एशिया फाउण्डेशनको सहकार्यमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले उपभोक्ताहरु सचेत हुनु जरुरी रहेको बताउनुभयो । उहाँले उपभोक्ताहरु सचेत नभएसम्म समस्या जस्ताको तस्तै रहने भएकाले अब आँफूले नि बुझ्ने र अरुलाई पनि बुझाउँदै सचेत गराउन सके समाधान भएर जाने बताउनुभयो ।

“बजारमा अखाद्य वा गुणस्तरहिन बस्तुहरु भेटिएमा कानूनी कारबाही गर्छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “हामी उपभोक्ताको हितका लागि प्रतिबद्ध छौं ।”

कार्यक्रममा वालिङ नगर उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक कल्पना तिवारीले प्रत्येक ब्यक्ति सचेत हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले अखाद्य बस्तु तथा गुणस्तरहिन बस्तुहरुको प्रयोगमा कमि गर्नका लागि यसखालका अन्तरक्रियात्मक कार्यक्रमहरु प्रभावकारी हुने विचार ब्यक्त गर्नुभयो ।

नागरिकको चेतनाको स्तर बृद्धि गराउन सके कार्यक्रमको प्रभावकारिता बढेर जाने बताउँदै वालिङ नगरपालिकाले समय समयमा बजार अनुगमन गर्दै आएको उल्लेख गर्नुभयो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले नुनदेखि सुनसम्म बजारबाटै लिने गरिएको तर अहिले बजार अराजक बन्दै गएको बताउनुभयो । नियमित बजार अनुगमन, अनुसन्धान तथा कानूनी दायरामा ल्याएर दोषीलाई कारबाही गरिने सहायक प्रजिअ गिरीले बताउनुभयो ।

यही क्रम बढ्दै गए विशाक्त खाद्य पदार्थले बजार ढाकीसकेको हुँदा अब सबै सचेत भएर लाग्न नसके भोलिका पुस्तामा ठूलो असर देखिने सहायक प्रजिअ गिरीले बताउनुभयो । आँफूले जानेका सिकेका कुरा घर घरमा पु¥याएर सहयोग गर्न पनि सहायक प्रजिअ गिरीले बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङ, द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार, वालिङ बहुमुखी क्याम्पस प्रमुख सच्चिदानन्द यादव, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कास्कीका सचिव नेपालप्रकाश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक कल्पना तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन उपभोक्ता हित संरक्षण मञ्च नेपाल स्थानीय कार्यक्रम अधिकृत निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP