सरकारले नयाँ कामको थालनी गर्दैछ : मन्त्री अर्याल ।

श्रीकृष्ण सिग्देल/स्याङ्जा :
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले यो सरकारले अब नयाँ कामको थालनी गर्ने बताउनु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१ मा रहेको देवीस्थान शेरा सामुदायिक भवनको उद्घाटन तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री अर्यालले पाँच बर्षको म्यान्डेड पाएको यो सरकारले ठुला—ठुला योजनाको थालनी गर्न लागेको बताउनु भएको हो ।

मुलुको विकासमा यो सरकारले गर्न नसकेमा अब आउने सरकारले पनि काम गर्न नसक्ने दावी गर्दै मन्त्री अर्यालले जनता माझ जादा सार्वजनिक गरेको घोषणा पत्र अनुसार सरकारले काम गरेरै छाड्ने बताउनु भयो । विगतका समयमा निर्माण भएका सरकार समय समयमा फेरिदा दीगो विकासको अवधारणा आउन नसकेको तर्क राख्दै मन्त्री अर्यालले अब यो सरकार दीगो विकासका लागि ठूला आयोजना अगाडि बढाउने तर्फ लागेको उल्लेख गर्नुभयो । स—साना कामसँगै ठूला काममा पनि सरकारले हात नहाले मुलुकको विकास नहुने मन्त्री अर्यालको भनाई थियो । सरकार दिर्घकालिन योजनामा रहेकाले सबै जनताले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।


सरकारले हावा कुरा गर्यो भन्नेहरुले देख्न सक्नुपर्छ भन्दै मन्त्री अर्यालले पाईपलाईन बाटै नेपालमा पेट्रोलियम पदार्थ आएको तर्क पेश गर्नुभयो । अब पानी जहाज र रेल पनि नेपालमा चल्ने दावी गर्दै उहाँले पाँच वर्षका लागि निर्माण भएको यो सरकारले विकास निर्माणको जग बसालेर छाड्ने बताउनु भयो । तिनतहका सरकारहरुको समन्वय हुन सकेमात्रै गाँउटोल देखि जिल्लाकै विकास हुने मन्त्री अर्यालको भनाई छ् ।

यो सरकार मुलुकको काचुली फेर्न तयार रहेको उल्लेख गर्दै मन्त्री अर्यालले सरकारले ल्याएको हरेक विधेयकमा विरोध नगर्न समेत सबैलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार वगाले, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, भवन निर्माण समितिका लक्ष्मी राउत, पदमबहादुर खत्री र देवी रेग्मी लगायतका बक्ताहरुले तीनै तहको सहभागिता बिना देशको विकास सम्भव नभएको बताएका थिए ।
सामुदायिक भवन निर्माणका लागि सरकारबाट रु १२ लाख ३० हजार, चन्दा सहयोगबाट रु १५ लाख ५३ हजार ३४२, देउसीभैलोबाट रु ११ लाख ९५ हजार ३७५ र जनश्रमदानबाट रु आठ लाख ९६ हजार गरी रु ४३ लाख ७६ हजार ७१७ को लागतमा भवन निर्माण गरिएको थियो । भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
TOP