भुस्याहा कुकुरको विकराल समस्या ।

लेखक- बश्याल

भुपराज बश्याल :

हा कुकुर भन्ने शब्द अपशब्दका रूपमा प्रयोग गर्ने गरिएको छ । तर, आजका दिनमा काठमाडौंमा यो अपशब्दका रूपमा होइन कि वास्तविक समस्याको रूपमा सतहमा देखिन थालेको छ । जंगलका जीव–जन्तु सहर–बजारका घरमा देखिनु सामान्यजस्तै बनेको हाम्रा लागि भुस्याहा कुकुरको हुल देख्नु खासै नौलो नहुन सक्छ । तर, त्यसले पर्यटकलाई पार्ने असर भने गम्भीर हुन सक्छ । पर्यटकीय मुलुक भनेर नेपाल घुम्न आउने पर्यटकलाई भुस्याहा कुकुरले काठमाडौंका गल्लीमा लखेटेको विषयलाई पर्यटन वर्षको तयारी गरिरहँदा सामान्य रूपमा लिनुहुँदैन ।

त्यसो त कुकुरलाई हिन्दू परम्पराअनुसार पुज्ने गरिन्छ भने, कुनै घटनाको अनुसन्धानमा समेत कुकुरको प्रयोग गर्ने गरिन्छ । सेना, प्रहरीदेखि सामान्य घरसम्म कुकुरलाई सुरक्षाका दृष्टिकोणले पाल्ने गरिएको छ । साथै, कुकुरकै व्यापार गरेर विश्वमा कैयौँ मानिस आफ्नो जीविकासमेत चलाइरहेकै छन् । तर, नेपालमा भने 
ठ्याक्कै उल्टो देखिन्छ ।

अन्य देशमा कुकुरको व्यापार तथा प्रतियोगिता गरिएको समाचार पढिरहेका हामीले यहाँ भने भुस्याहा कुकुरले टोकेर अस्पताल भर्ना भएको खबर पढ्न÷सुन्न पाउँछौँ । मानिसको दैनिक जीवनमा असार पार्ने गरी काठमाडौंका गल्लीमा भुस्याहा कुकुरको के उपादेयता ? जसले हाम्रो दैनन्दिन जीवन र पर्यटनलाई नै प्रभावित तुल्याइरहेको छ । के तिनको व्यवस्थापन गरिनुपर्ने होइन ? 

भुस्याहा कुकुरबाट प्रभावितहरूको आवाज सम्बन्धित निकायसम्म पुग्न नसक्नु र सरकार पनि यसप्रति गम्भीर हुन नसक्नाले मानिसहरू प्रायः सरकारलाई नै यसको तारो बनाइरहेका हुन्छन् । यसतर्फ न त सञ्चारमाध्यमको ध्यान जान सकेको छ न महानगरपालिकाको । काठमाडौंका भुस्याहा कुकुरको अर्को मनोविज्ञान भनेको निकै खतरनाक किसिमको छ ।

हामीले देख्ने सामान्यभन्दा सामान्य मानिसप्रति भुस्याहा कुकुर निकै आक्रामक ढंगले प्रयोग हुने गरेको देखिन्छ । काठमाडौंका विभिन्न स्थानमा सबैले सहजै देख्न सक्छन्, सडकमा फोहोर उठाउनका लागि हिँडेका सफाइकर्मी हुन् अथवा कबाडीको सामान संकलनमा लागेका व्यक्ति हुन्, उनीहरू भुस्याहा कुकुरको आक्रमणमा पर्ने जोखिन अत्यन्त बढी हुने गर्छ । 

आर्थिक अभावमा अथवा सामान्य ढंगको जीवन व्यतीत गर्ने जोसुकै भुस्याहा कुकुरको आक्रमणमा पर्ने सम्भावना राजधानीमै देखिनु पक्कै पनि सामान्य परिघटना होइन । कुकुरको टोकाइबाट हुने रेबिज संक्रमणसँगै त्यसको औषधि उपचारमा सहज पहुँच नहुनु अर्को उदेकलाग्दो परिघटना हो । यसका साथै रातको समयमा भुस्याहा कुकुरबाट हुने सवारी दुर्घटनातर्फ पनि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्नेछ । यसका साथै भुस्याहा कुकुरले रातको समयमा काठमाडौंका अनेकौँ क्षेत्रमा भुकेर मानिसको निद्रासमेत प्रभावित पारिरहँदा हामीले यसको व्यवस्थापन नगरी राम्रो सहरको कल्पना गर्न सक्दैनौँ । 

भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा हामीले काठमाडौंका भुस्याहा कुकुरको व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेछ । सामान्यजस्तो लाग्ने यो समस्याले मुलुकको व्यापार र पर्यटनलाई समेत प्रभाव पार्नेछ, त्यसैले यसमा राज्यका सम्बन्धित निकायको वेलैमा ध्यान जानु आवश्यक छ ।

पर्यटन वर्ष सन् २०२० को पूर्वसन्ध्यामा हामीले काठमाडौंलाई हराभरा पार्ने, सडक, ट्राफिकलाई व्यवस्थित गर्नेजस्ता अनेकौँ कामका साथै भुस्याहा कुकुरको व्यवस्थापनलाई पनि समयमै ध्यान दिनु जरुरी छ । किनभने, एउटा पर्यटकले आफ्नो देशमा गएर नेपाल कस्तो छ भन्ने प्रश्नमा भन्ने पहिलो वाक्यले नै हाम्रो पर्यटन वर्षको सफलता निर्धारित गर्नेछ ।

काठमाडौंका कुनै स्थान विशेषमा मात्रै भुस्याहा कुकुरको बिगबिगी भएको भए यस क्षेत्रमा महानगरपालिकाको ध्यान जान जरुरी छ भन्नुपर्ने हुन्थ्यो । तर, यो समस्या विकराल रूपमा उपत्यकाका महत्वपूर्ण सबै क्षेत्रमा व्याप्त छ । अझ हास्यास्पद त हाम्रो मुख्य व्यापारिक र पर्यटन केन्द्रको रूपमा रहेको दरबारमार्ग, न्युरोड, ठमेल, पाटन दरबार क्षेत्रसहित संसद्भवन बानेश्वर, प्रधानमन्त्रीनिवास बालुवाटार आदि क्षेत्रमा समेत व्याप्त छ । 

आपराधिक व्यक्तिबाट कुनै नागरिक, पर्यटक प्रभावित हुन नपरोस् भनेर चनाखो हुने सरकार र प्रहरी भुस्याहा कुकुरको आक्रमणबाट प्रभावित हुँदा आफ्नो सुरक्षा आफैँ गर भन्न मिल्छ कि मिल्दैन ? अझै विदेशी पर्यटक यसबाट प्रभावित भएमा त्यसको जिम्मेवार को हुने ? प्रभावित व्यक्तिको उपचारमा राज्यको कुन निकाय जिम्मेवार हुने ? यसले समग्र देशको पर्यटन र स्वास्थ्यमा पार्ने असरलाई राज्यका निकायले मनन गर्नुपर्ने कि नपर्ने ? त्यसैले सामान्यजस्तो लाग्ने गम्भीर विषयतर्फ नागरिकसहित राज्यका निकायको ध्यान जान जरुरी छ । नयाँ पत्रिका दैनिकबाट

Facebook Comments Box
TOP