बाख्रापालन पूर्ब तालिम र नश्ल सुधारको योजना बनाउन जरुरि-बाख्रा गाँउका अभियान्ता : अर्याल ।

पछिल्लो समयमा नेपालमा बाख्रा पालन तर्फ आकर्षण बढ्दो छ । बिदेशबाट फर्किएकाहरुको यस तर्फ बिशेष चासो र ध्यान गएको पाउन सकिन्छ । त्यसो त परम्परागत रुपमा नेपालमा बाख्रा पालिदै आएको छ तर व्यवस्थित र आधुनिकशैलीमा बाख्रा पालन नहुँदा राम्रो आम्दानी गर्न कृषकहरु बन्चित छन् । बाख्रा पालनलाई ब्यापक र राम्रो आम्दानी गर्न सकिने बनाउन भन्दै स्याङ्जाबाट शुरु भएको बाख्रा गाउँ अभियान अहिले देशका बिभिन्न ठाँउमा पुगिरहेको छ । यहि अभियानका अभियान्ता शुसिल अर्यालसँग आँधीखोला खबर डटकमका लागि प्रधन सम्पादक राधाकृष्ण डुम्रेले गरेको कुराकानीको सम्पादित अंश ।

अभियान्ता शुसिल अर्याल

१) शुसिलजी स्वागत छ यहाँलाई आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
धन्यवाद छ , बिशेष गरेर कार्यालयको काम तथा बाख्रा पालनको अभियानको काममा ब्यस्त छु, साथै अव केहि दिन पछि यो अभियानको वेबसाइट बनाएर सकिदैछ, त्यसैको काममा व्यस्त छु ।
२) नमुना वाख्रा गाँउको अभियान कस्तो चल्दै छ ?
यो अभियान बिशेष गरेर बिदेशबाट फर्केका युवाहरु प्रति लक्षित छ,्र त्यसकारणले हामीले यो अभियान मार्फत युवा लक्षित बिशेष गरेर निशुल्क रुपमा तालिम दिने, उहाँहरुका समस्याका बारेमा परामर्श दिने र खोर लगायत घाँस खेति उत्पादन लागत घटाउने प्रबिधी विकास गर्ने, सरकारी तथा गैह्रसरकारी सस्थाहरुका बीचमा बाख्रा पालन सम्बन्धि अनुभव आदान—प्रदान गर्ने, सरकारी सेवा सुबिधाहरुका बारेमा जानकारी गराउने मुख्य उदेश्यका साथ बाख्रा व्यवसायीहरुलाई समेटेर बिबिध कार्यक्रमहरु संचालन गरिएको छ्र हालसम्म यो अभियान मार्फत देशभर ५१३२ जनालाई तालिम दिईएको छ ्र यो कार्यक्रम बाट स्याङ्जा जिल्लामा १४६ ओटा सानाठूला बाख्रा फर्महरु रहेका छन् , यी व्यवसायीका बिचमा उहाँहरुका प्राबिधिक समस्या हरु समाधानको बाटोमा अभियान सक्रिय रुपमा काम चलाईरहेका छौं ।

३) सरकारी सेवा र वाख्रा गाँउ अभियानलाई कसरी सँगै लैजानु भएको छ ?
नियमित अफिसको काम र बिदाका समयलाई उपयोग गर्दै अभियानको काम निरन्तरता दिएको छु । कतिपय काम अफिस भित्रकै समयबाट समेत व्यवस्थापन भईरहेकोे छ । आजकल सामाजिक संजाल ले मानिसहरुलाई अत्यन्त नजिक बनाएको हुनाले धेरै जसो कामहरु सामाजिक संजाल मार्फत समेत गरिएको हुनाले काम गर्न सहज समेत भएको छ ।

४) वाख्रा पालनको पछिल्लो अवस्था के छ ?
नेपालि किसानहरु मध्ये ५६ प्रतिशत कृषक परिवार सँग बाख्रा रहेको छ । स्याङ्जा जिल्लामा २,१८,००० बाख्रा छन् । अधिकांश कृषक परिवारसँग खरी जातका बाख्रा छन् । नेपालमा जम्मा १ करोड ८० बाख्रा रहेको छ यसरी हेर्दा अमेरिकाको भन्दा नेपालमा रहेकोे बाख्रा सख्या झन्डै ५ गुणा बढी रहेको देखिन्छ । हामीसँग भएका स्थानीय बाख्राहरुमा च्यांग्रा , सिन्हाल ,खरी , तराई बाख्रा हुन् भने बिदेशी जातहरुमा जमुनापारि , बारबेरी , बोयर ,सानन, मुख्य , बाख्राहरु नेपाली किसानमाझ प्रचलित जातहरु हुन् ।

बाख्रापालनको काम सुरु गर्नुभन्दा पहिले आवश्यक तालिम लिन र नश्ल सुधारको योजना बनाउन पनि जरुरि छ ।

५) वाख्रा पालन लागि सर्व प्रथम के गर्नु पर्दछ, जसको कारण सफलता मिल्न सकोस् ।
कुनै पनि पशुपालनको लागि सबैभन्दा पहिले त पोषिलो आहार आवश्यक पर्दछ । त्यसैले बाख्रापालन गर्नु भन्दा पहिले घास खेति गर्नु जरुरि छ । त्यसपछि खोर बनाउने स्थान छनौट, खोर निर्माण, बाख्रा खरिद लगायतका काम सुरु गर्नु पर्छ । बाख्रापालनको काम सुरु गर्नुभन्दा पहिले आवश्यक तालिम लिन र नश्ल सुधारको योजना बनाउन पनि जरुरि छ । बाख्रा पालानबाट आम्दानी आउन अन्य व्यवसायको भन्दा लामो समय लाग्ने हुँदा त्यहि अनुसारको आर्थिक व्यवस्थापनको योजना निर्माण गर्नु जरुरि छ । बाख्रा पालनबाट २४ महिनादेखि आम्दानी हुन सुरु हुने भएतापनि ४८ महिना सम्ममा बाख्राबाट लगानी फिर्ता हुन्छ । त्यसकारणले बख्रपलानामा सोहि अनुसारको व्यवसायिक योजना तय गर्नु पर्दछ । यसका साथै विभिन्न सरकारी तथा गैह्र सरकारी सस्थाहरुसँग सहकार्य गरेर काम गरेको खण्डमा बाख्रापालनबाट सफलता मिल्नेमा कुनै शंका छैन ।

६) स्याङ्जा तथा आसपासमा कस्ता-कस्ता जातका वाख्रा पाल्न उपयुक्त हुन्छ ?
स्याङ्जा जिल्लामा रहेका ५८ प्रतिशत कृषक परिवारसँग बाख्रा रहेको छ । स्याङ्जा जिल्लामा २,१८,००० बाख्रा छन् । अधिकांश कृषक परिवारसँग खरी जातका बाख्रा छन कालीगण्डकी गाँउपालिकाकोे चण्डी भन्ज्याङ्ग, आलमदेवी क्षेत्रमा जमुनापरी क्रसका बाख्रा रहेका छन् । भिरकोट नगरपालिकाको ओकादीमा सानन बाख्रा रहेका छन् भने वालिङ नगरपालिकाकोे पेखु क्षेत्र, चापकोटको धुर्काेट क्षेत्र, कालिगण्डकीको बेलटारी, गल्याङ् नगरपालिको पकवादी, मालुंगा क्षेत्र, भीरकोटको लामाचौर क्षेत्रमा बोयर क्रस बाख्राको उत्पादन तथा बिक्रि वितरण भैरहेको छ भने हाम्रो हावापानी अनुसार स्थानीय खरी जातमा बोयर बोका लगाउने र क्रस उत्पादनलाई प्रोत्साहन गर्ने गरिएको छ । लेकाली क्षेत्रहरुमा स्थानीय खरी जातमा सानन क्रस गरि उत्पादन क्षमता बढाउने गरि सोहि अनुसारको बाख्रा पालन गर्न सकिन्छ ।

७) वाख्राको मासुको माग कस्तो छ अनि कति वाख्रा विदेशवाट मासुको लागि आयात गरिन्छ ?
सबैले खान हुने र रुचाउने मासु भएकाले नेपालमा बाख्राको मासुको माग दिन प्रतिदिन बढ्दो क्रममा छ । हाम्रो देश को कुल मासुको माग खसी बोकाबाट २० प्रतिशत मात्र पूर्ति हुने गरेको छ । हाल देशमा खसी बोकाको माग पुरा गर्नको लागि बिशेष गरेर भारत र चीनबाट करिब नौ अरबको जिउदो खसी बोका आयात गर्नुपर्ने बाध्यता छ । हाल सरकारले भारतबाट खसी बोका आयातमा रोक लगाएको अवस्था पनि छ । यसले गर्दा हाम्रो आन्तरिक माग पुरा गर्नको लागि उत्पादन बृद्दी गर्नुपर्ने जरुरि छ । उत्पादन बृद्धि गर्नका लागि स्थानीय बाख्राहरुमा छनौट बिधि अपनाउन, नश्ल सुधार गर्न, उन्नत र पोषिला घासहरुका माध्यम बाट बढी भन्दा बढी उत्पादन लिन पाउने अबस्था सिर्जना गर्नुपर्छ । अघिल्लो सालको दशैँ र तिहारमा स्याङ्जाबासिले १४ करोडको खसि बोकाको मासु खाएको तथ्यांकले पनि खसीबोकाको मासुको बजार कस्तो छ भन्ने प्रष्ट्याउछ ।

८) मासु वाहेक दुधको लागि वाख्रा पाल्न सकिन्छ होला नि, यस्को लागि कस्तो जातको वाख्रा पानल गर्न उचित हुन्छ ?
बिशेष गरेर बाख्रापालन मासुको लागि पालीए पनि पश्मिना उत्पादन, भारि बोक्ने काम, दुध उत्पादनका लागि समेत बाख्रा पाल्ने प्रचलन छ । हाम्रो देशमा खासै प्रचलन नभए तापनि पश्चिमा मुलुकहरुमा दुध उत्पादनकै लागि पालिने बाख्राको संख्या ठुलो छ । बाख्राको दुध लगायत यसबाट बनेको चिज, साबुन, स्याम्पु लगायतका उत्पादनको विश्व बजारमा ठुलो माग छ । बाख्राको दुधको प्रयोगले क्यान्सर र टि बी लगायतका रोगको उपचारका लागि पनि फाइदाजनक मानिएको छ । हाम्रै देशको हिमाली भेगहरुमा पालिने च्यांग्राबाट उत्पादन हुने पश्मिना संसारभरी नै उच्च गुणस्तरीय मानिन्छ ।

९) स्याङ्जा वोयर जातको वाख्राको लागि प्रसिद्ध छ के क्रस उत्पादन गर्दा व्यवशायमा सफलता मिल्न सक्छ ?
हाम्रो खरी बाख्राको उत्पादन क्षमता दुइ बर्षमा तिन पटक ब्याउने र एक पटकमा दुइ ओटा बच्चा पाउने, पहाडी हावापानीमा राम्ररी हुर्कने, रोग कम लाग्ने र संसारकै सबैभन्दा असल माउ हो । तरपनि यो बाख्राको दैनिक बृद्दीदर ५८ ग्राम मात्र रहेको हुनाले यसको सुधारका लागि स्थानीय खरी जातमा बोयर जातको बोका लगाएर क्रस गर्दा दैनिक १३० ग्रामको दरले बृद्दी हुने हुदा कृषकहरु बोयर जातको क्रस गर्न उत्साहित भएको पाइन्छ । यसका साथै हाल बोयर बाख्राको बढ्दो फैलावट सगै स्थानीय खरी जातलाई संरक्षण गर्न समेत जरुरि देखिएको छ । बिशेष गरेर गर्मि क्षेत्रमा मासुका लागि बोयर बाख्राबाट क्रस गर्ने र उच्च पहाड हरुमा (१५०० मि भन्दा माथिको भू भागमा) दुधका लागि बाख्रा पालन गर्न अत्यन्त प्रभाबकारी हुन्छ ।

१०) वाख्रा पाल्दा प्राविधिक ज्ञान कसरी पाउन सकिन्छ, वाख्रामा हुने सामान्य समस्या कस्तो खालको हुन्छ र कृषकले कसरी समाधान गर्न सक्दछ ?
बिशेष गरेर स्याङ्जा जिल्लामा यो अभियानका माध्यमबाट युवाहरुलाई तालिम दिने गरिएको छ । यसको साथै सरकारी र गैह्र सरकारी निकायहरुले बेला बेलामा तालिमहरु लिएर आफ्नो क्षमता बिस्तार गर्नुपर्दछ । हामीले फेसबुक पेजमार्फत पनि विभिन्न ज्ञान शिप प्रबिधि दिने गरेका छौं ।
मुख्यतया बाख्रामा महामारी रुपमा सरुवा रोगमा पी पी आर, इन्टेरोटक्सेमिया, निमोनिया लगायतका रोगहरु लाग्ने गर्दछन भने बिष लाग्नु, पेट ढाडीनु, बच्चाहरु छेरेर मर्नु लगायतका समस्याहरु देखिने गर्दछ।

११) घाँसको व्यस्थापन कसरी गर्ने, वाख्रा चराएर वा वधुवाको रुपमा कसरी पाल्दा फाईदाजनक हुन्छ ?
मुख्य गरेर हाम्रोजस्तो विविधता भएको देशमा बाख्राको लागि विभिन्न प्रजातिहरुका घासहरु पाइन्छ । हाम्रो व्यवस्थापनमा स्थानीय श्रोतसाधनको उपयोग गर्दै चराएर पाल्ने विधिपनि राम्रो मानिन्छ तर उत्पादन लागतका कुराहरुलाइ मध्यनजर गरेर बँधुवा पद्धतिबाट बाख्रापालन व्यावसायिक रुपमा फाइदाजनक देखिन्छ ।

१२) वाख्रा गाँउ अभियानको लागि स्वदेशी तथा विदेशी आर्थिक तथा प्राविधिक सहयोग कसरी लिनु भएको छ ?
यो अभियानको तय गर्दा नै कुनैपनि सरकारी तथा गैरसरकारी दात्रीनिकायबाट आर्थिक सहयोग नलिने संकलल्का साथ यो अभियान सुरु गरिएको थियो त्यसकारणले हामीले कुनैपनि सहयोगी निकायबाट आर्थिक सहयोग लिने गरिएको छैन । अभियानको लागि विभिन्न व्यक्ति संघसंस्थाहरु बाट आएका सहयोगहरु जस्तै नेपाल सरकार बाट कापी , फार्मर बाट बिदेशी प्रशिक्षक यी कुराहरु यस अभियानले लिएर विभिन्न गाउँ क्षेत्रहरुमा तालिम लगायतका कुरा हरु संचालन गरि आएको छ यस बिचमा हामीलाई विभिन्न व्यक्तिहरुलाई उन्नत घासका बिउहरु प्राप्त भएका छन् ।

१३) अन्त्यमा आँधीखोला खवर डटकम मार्फत के भन्न चाहानुहुन्छ ।
मलाई आफ्ना कुराहरु राख्ने सुवर्ण अवसर दिनुभएकोमा आँधिखोला खबर प्रति आभार व्यक्त गर्दछु साथै अभियानको तर्फबाट समेत हार्दिक आभार प्रकट गर्दछु ।

Facebook Comments Box
TOP