वालिङ : बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गरियो ।

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङ् नगरपालिकाले म्याद गुज्रेका अखाद्य वस्तु नष्ट गरेको छ । दशैं तिहारका अवसरमा नगरपालिकाले विभिन्न पसलहरुमा अनुगमन गर्दा भेटिएका अखाद्य वस्तुहरु बुधबार नष्ट गरेको हो ।

अखाद्य वस्तु नस्ट गर्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बजार अनुगमनको क्रममा म्याद गुज्रेका सामान जफत गरी नष्ट गरेको बताउनु भयो । सुवेदीले कुनै पनि म्याद गुज्रेका सामान बेचेर जनस्वास्थ्यमा असरपार्ने काम गर्न नहुने र गरेको पाईएमा कारबाही गर्ने बताउनु भयो ।
अधिकृत सुवेदीले अब वालिङ नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउदै आम उपभोक्तालाई पनि म्याद भए नभएका सामान हेरेर सामान खरिद गर्न आग्रह गर्नु भएको छ । सोही अवसरमा वालिङ उद्योग वाणिज्य संघका कार्यकारी सचिव बाबुराम रेग्मीले उद्योग वाणिज्य संघले व्यावसायीहरुको हक हितमा काम गर्ने भन्दै यस्ता म्याद गुज्रेका सामानहरु भेटिएमा न्युनिकरण गरेर स्वच्छ र स्वस्थ्य व्यावसाय प्रवद्र्धन गर्ने गरेको बताउनु भयो । उहाँले उद्योग वाणिज्य संघले नगरपालिका र प्रशासनसंँग मिलेर बजार अनुगमन गर्दै आएको बताउनु भयो ।
चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि अब नियमित अनुगमन गर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP