अदुवा लगाउनुहोस् बजार ब्यवस्थापनको जिम्मा नगर पालिकाले लिन्छ : प्रमुख अधिकारी ।

आँधीखोला खबर/गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले किसानले उत्पादन गरेको अदुवा विक्रीको जिम्मा नगरपालिकाले लिने बताउनु भएको छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले गल्याङमा गरेको कार्यक्रममा प्रमुख अधिकारीले भन्नुभयो ‘बाहिर सके महङ्गोमा बेच्नुस्, नसके तपाईको लागत मुल्यको दोब्बर मुल्यमा नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाउनेछ ।’ अदुवा तथा अन्य कृषि क्षेत्रका लागि चाहिने सहुलियत ऋणको कुनै समस्या नभएको भन्दै उहाँले किसानलाई चाहिएजति ऋण उपलब्ध गराउने र उत्पादन गरी विक्री गरेपछि ऋण भूक्तानी गर्न सकिने व्यवस्था मिलाउने स्पष्ट पार्नु भयो । उत्कृष्ट कृषकलाई पुरस्कारको व्यवस्था पनि गरिने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
भाषणले मात्रै केही नहुने भन्दै उहाँले अब रोजगारी र उत्पादनमा लाग्नुपर्ने बेला आएको प्रमुख अधिकारीको भनाई छ । उहाँले कृषि क्षेत्रबाट मात्रै रोजगारीको सिर्जना हुन सक्ने र विदेशीएका युवालाई देशमा नै फर्काउन सकिने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘आफ्नै देशमा दुख गरेर परिवार सँगै बस्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्व छ ।’
नगरपालिकालाई मसलाबारी जोन बनाउने सन्दर्भमा आफु जुटिरहेको भन्दै उहाँले अदुवा र बेसार विस्तारमा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका कृषि अधिकृत महाप्रसाद पौडेलले कृषि क्षेत्रको पकेट जोन निर्माण गर्न कार्यक्रम गरिएको बताउनुभयो ।

Facebook Comments Box
TOP