राष्ट्रिय सिंचाई उपभोक्ता महासंघको पाँचौ राष्ट्रिय परिषद स्याङ्जामा शुरु ।

आँधीखोला खबर/गल्याङ :
राष्ट्रिय सिंचाई उपभोक्ता महासंघ नेपालको पाँचौ राष्ट्रिय परिषद स्याङ्जामा शुरु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर एक मालुङ्गाको उत्तरवाहिनी क्षेत्रमा शुरु भएको परिषदको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले उद्दघाटन गर्नु भएको हो । सो अबसरमा प्रमुख अधिकारीले उत्पादनमा कमजोर भएका कारण नेपाली राष्ट्रबाद कमजोर भएको बताउनु भयो । उहाँले भन्नुभयो, “आफै बस्तु उत्पादन गर्न नसक्दा परनिर्भरता बढ्यो र राष्ट्रबाद कमजोर भयो ।”


कृषि क्षेत्रबाट रोजगारी निर्माण गर्न सकेमा मात्रै देशको उन्नती सम्भव रहेको भन्दै प्रमुख अधिकारील भन्नुभयो, “ मैले यसमा नै जोड दिएको छु ।”
नगरप्रमुख अधिकारीले डिपार्टमेन्टल स्टोरहरुमा ब्राजिलको तामा र थाइल्याण्डको मकै आफुले भेटेको भन्दै भएका वस्तुको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले कालीगण्डकी आसपासका फाँटहरुमा सिंचाईको सुविधा पुरयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कालीगण्डकी आसपासको क्षेत्रलाई हराभरा बनाउने अभियानमा आफुहरु लागि परेको जानकारी दिनुभयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “किसानलाई व्यवसायिक र आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले विभिन्न योजनाहरु ल्याएको छ ।” कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण भूमिलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सिंचाई उपभोक्ता महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद मेहताले सिंचाई ऐन पारित हुन नसक्दा किसानलाई समस्या परेको गुनासो गर्नुभयो । उहाँले किसानको योगदानको आधारमा बजेट विनियोजन हुनुपर्नेमा आफुहरुको संस्थाले जोड दिएको जानकारी दिनुभयो ।
‘जलस्रोतको धनी देश नेपालको शान, सम्बृद्व किसान हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको पाँचौं राष्ट्रिय परिषद बैठक बुधवार सम्म चल्नेछ । परिषद बैठकको व्यवस्थापन कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले गरेको छ ।
२०५५ सालमा चितवनमा स्थापना भएको राष्ट्रिय सिंचाई उपभोक्ता महासंघ नेपालले अहिले देशभर आफ्ना गतिविधिहरु सञ्चालन गरेको बताएको छ । (हरि अर्यालको सहयोगमा)

Facebook Comments Box
TOP