सकारात्मक परिवर्तन नै विकास हो : नगर प्रमुख खाँण ।

तोलाकान्त बगाले/वालिङ:

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सकारात्मक परिवर्तन नै विकास भएको बताउनुभएको छ ।
“बाटोघाटो खन्ने, अन्य पूर्वाधारहरु निर्माण गर्नुमात्रै विकास होईन” नगर प्रमुख खाँणले भन्नुभयो, “विकास त त्यो हो जहाँ सकारात्मक परिवर्तन भएको अनुभूति हुन्छ ।”
सयपत्री समाज पोखराले वालिङ नगरपालिकाको सभाहलमा सोमबार आयोजना गरेको स्थानीय तहको बजेट कार्यान्वयन प्रक्रिया एवं सेवा प्रवाहको स्थिति विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख खाँणले वालिङ नगरपालिकाले योजनाहरुलाई प्राथमिकताका आधारमा सञ्चालन गरेको बताउनुभयो ।


“नगरपालिकामा सीमित स्रोत र साधन छन् तर असीमित आवश्यकताहरु छन्” नगर प्रमुख खाँणले भन्नुभयो, “सीमित स्रोतले असीमित आवश्यकता पूर्ति गर्नुपर्ने हाम्रा लागि चुनौति र समस्या हो ।”
चुनौति र समस्याभित्रै समाधान तथा अवसर पनि रहेकाले कार्यान्वयन पक्षमा थप बलियो बन्नमा मद्धत पुग्ने विश्वास नगर प्रमुख खाँणको थियो ।
“नगरपालिकाका हरेक गतिविधिमा हामी पारदर्शी, जवाफदेही र कुनै पूर्वाग्रहरहित तरिकाले अगाडि बढेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “यति गर्दा गर्दै पनि कहीँकतै नीति नियम विपरित चलेका रैछौं भने देखाईदिनुहोस् हामी सच्चिन तयार छौं, सुधार गर्न तयार छौं ।”
वालिङ नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामा नगरवासीप्रति कुनै विभेद नगरेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
उपप्रमुख तिवारीले नगरबाट हुने सेवा प्रवाह पारदर्शी रहेको बताउँदै आगामी दिनमा थप ब्यवस्थित गर्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
वालिङ नगरपालिकाको बजेट सानो तर योजनाहरु धेरै भएकाले पनि सानो बजेटलाई धेरै योजनामा वितरण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनमा समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताउनुभयो ।


अन्तरक्रिया कार्यक्रममा नेकपा वालिङ नगर अध्यक्ष राजेन्द्र डुम्रे, नेपाली काँग्रेस नगर सदस्य कृष्ण गिरी, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण, नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशील सुबेदी लगायतले वालिङ नगरपालिकाको बजेट कार्यान्वयन तथा सेवा प्रवाहकाबारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
सयपत्री समाजका अध्यक्ष गेहेन्द्रेश्वर कोईरालाले सार्वजनिक चासोका विषयमा सरोकारवालाहरुसित ब्यापक छलफल गर्ने र त्यहाँबाट निस्केका निष्कर्षहरुलाई सम्बन्धित निकायमा पु¥याई कार्यान्वयनमा सघाउ पु¥याउनका लागि अन्तरक्रिया गरिएको बताउनुभयो ।
उहाँले यस खालका अन्तरक्रियात्मक कार्यक्रमहरु अन्य नगरपालिका तथा गाउँपालिकाहरुमा पनि सञ्चालन गरिएको आयोजक सयपत्री समाजले जनाएको छ ।
“वालिङ नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि एउटा गन्तब्य बनाईसकेको छ” अध्यक्ष कोईरालाले भन्नुभयो, “गन्तब्यनै नभएको भए अलमल गर्नुपर्ने हुनसक्थ्यो, पत्ता लागेपछि त्यहाँ पुग्नका लागि अलमल नहुने भएकाले समयमै पुग्न सजिलो हुनेछ ।”
सयपत्री समाजका उपाध्यक्ष अमृतकुमार भण्डारीले वालिङमा भएको अन्तरक्रियाबाट प्राप्त भएका निष्कर्षहरु वालिङ नगरपालिकालाई उपलब्ध गराउने भएकाले आगामी दिनमा बजेट कार्यान्वयन प्रक्रिया तथा सेवा प्रवाहमा सहजता ल्याउनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
सयपत्री समाजका अध्यक्ष गेहेन्द्रेश्वर कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष अमृतकुमार भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP