नेपालको पहिचान हिन्दुराष्ट्रले मात्रै स्थापित हुन सक्छ : डाक्टर चिन्तामणी योगी ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
विश्व हिन्दु महासंघका सल्लाहकार एवं प्रखर धार्मिक बक्ता डाक्टर चिन्तामणी योगीले नेपालको पहिचान हिन्दुराष्ट्रले मात्रै स्थापित हुन सक्ने बताउनु भएको छ । नेपालमा सदियौं देखि बैदिक सनातन धर्मको संरक्षण र संवद्र्धन गरिदै आएको भन्दै डाक्टर योगीले भन्नुभयो, “पछिल्लो समय हाम्रो संस्कार र संस्कृति माथि नै आक्रमण भईरहेको छ ।”

विश्वहिन्दु महासंघ वालिङ नगर अधिवेशनको उद्दघाटन गर्दै डाक्टर योगीले भन्नुभयो,“विश्वमा नेपाल र नेपालीको छुट्टै पूर्वीय दर्शनमा आधारित पहिचान रहेको छ ।” विश्वले समेत उत्कृष्ट मानेको बैदिक सनातन धर्म माथि चौतर्फी प्रहार गरी सिद्ध्याउन खोजिएको उहाँले आरोप लगाउनु भयो । उहाँले थप्नु भयो, “कतै नेपाली संस्कार र संस्कृति मास्ने काममा हामी आफै प्रयोग त भएका छैनौ ?”
नेपाली जनताको अभिमतलाई एकातिर थन्काएर ल्याएको धर्मनिरपेक्षता नेपालीलाई हुने छैन भन्दै योगीले भन्नुभयो,“ दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैले दिएको छैन ।” प्रजातन्त्र देखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्काएर ल्याइएको संविधानबाट धर्म निरपेक्ष नहटाइएमा संविधान दीगो हुनेवाल छैन योगीले स्पष्ट पार्नुभयो ।

गाई माता बचाउ, सिमाना बचाउ, नदी बचाउ तर धर्मको नाममा परिवर्तनको आगो निभाउ, योगीले भने,“धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा घुमेको छ ।” सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले हाम्रो संस्कृति, संसकार र धर्म बचाउन सबै लाग्नु पर्छ योगीले भन्नुभयोे । मुलुकलाई धर्म निरपेक्ष हटाएर हिन्दु राज्य घोषणा गर्न सबै एक हुनुपर्ने धारणा योगीको थियो ।
“बैदिक सनातन धर्म,संस्कार र संस्कृतिको संरक्षणमा उठौं, राष्ट्र, राष्ट्रियता, र आर्थिक संवृद्धिमा जुटौं” भन्ने नाराका साथ भएको अधिवेशनमा बोल्दै विश्व हिन्दु महासंघका सल्लाहकार एवं पुर्व सांसद शंकर प्रसाद पाण्डेले हिन्दु राष्ट्रको पहिचान मेटाउने काम भएको भन्दै आक्रोश पोख्नु भयो । उहाँले आफ्नो संस्कार र संस्कृति संरक्षणमा जोड दिनुपर्नेमा नेपालका राजनैतिकदलहरु उल्टो काम गरिरहेको बताउनु भयो ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले नेपालको संस्कृतिको र सनातन धर्मको संरक्षणमा सवै लाग्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “सनातन धर्ममा जातभात भनेर कुनै विभेद गरेको छैन ।”

कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष भरत पौडेलले जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन आग्रह गर्नुभयो । हिन्दुराज्य राष्ट्रियता सगँ गाँसिएको छ पौडेलले भन्नुभयो, “गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृति प्रति दिनप्रतिदिन प्रहार भइरहेको छ ।” हिन्दु राज्य घोषणा नहुने समय सम्म हाम्रो लडाई निरन्तर रहने पौडेलले बताउनु भयो । देशभरका हिन्दुहरुको मागलाई दलिय सरकारले पुरा नगरेमा आन्दोलनको आधीबेरी आउने चेतावनी पौडेलले दिनुभयो । दुईदिन अगाडि हिन्दुत्वको बर्खिलापमा वोलेका पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई समेत जेल हाल्न पौडेलले सरकार सगँ माग गर्नुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले नेपालीहरुलाई झुक्याउने काम राज्य सत्ताबाट निरन्तर भईरहेको बताउनु भयो ।
, कार्यक्रममा विश्वहिन्दु महासंघका सल्लाहकार चैतन्यकृष्ण महाराज, विश्व हिन्दु महासंघ युवा संगठनका अध्यक्ष सागर थापा, वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल,महासंघका कास्की अध्यक्ष पार्वती पौडेल, लगायतले मुलुकमा हत्या, हिंसा, अत्याचार, बलात्कार, भष्ट्रचार बढिरहेको भन्दै यसको अन्त्यको लागि हिन्दु संस्कार अपरिहार्य रहेको बताए ।
महासंघ स्याङ्जाका कोषाध्यक्ष सरिता पौडेलको स्वागत र केन्द्रीय सदस्य पण्डित नेत्र प्रसाद पराजुलीको धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको सभापतित्वमा सम्पन्न भएको उद्दघाटनसत्रको सञ्चालन सचिव पदम प्रसाद पाण्डेले गर्नु भएको थियो ।
सो अवसरमा भजन गायक सुरज भण्डारीले भजन प्रस्तुत गर्नु भएको थियो भने, साईनभिलेज स्कुलका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । त्यस्तै कृष्ण प्रसाद तिवारी,टिकाराम डुम्रे लगायतले स्वस्ती बाचन गर्नु भएको थियो ।
कार्यक्रममा स्याङ्जाका गाँउ—गाँउबाट भेषभुषा तथा झाकी सहित सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अधिवेशनले सीताराम अधिकारीको अध्यक्षतामा सदस्य रहेको नगर समितिको चयन गरेको छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…