पत्रकार हमालको रिहाईको माग गर्दै ज्ञापनपत्र ।

भवानी अधिकारी /स्याङ्जा :
पत्रकार ओम हमालको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बुधवार ज्ञापनपत्र पठाईएको छ ।


पत्रकार महासंघ स्याङ्जका अध्यक्ष ओमप्रकाश शर्माद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा लामो समयदेखि सुशासन, दिगो शान्ति र विकास निर्माणका क्षेत्रमा कलम चलाउदै आएका नेपाल पत्रकार महासंघ कास्कीका सदस्य एवं क्रियाशिल पत्रकार ओम हमाललाई तत्काल रिहा गर्न माग गरिएको हो ।
ज्ञापनपत्रमा समाजका वेथिति, ब्यभिचार र दुराचार बिरुद्ध सदाचारका पक्षमा कलम चलाउने कलमजीवीलाई पटक पटक पक्राउ गरिनु दुखद भएको उल्लेख छ । ठोस प्रमाण बिना यसरी श्रमजीवी पत्रकारलाई पक्राउ नगर्न र संबिधान र संबैधानिक मर्यादा विपरित कुनै पनि गतिबिधी हुन नदिन भन्दै प्रधानमन्त्रीज्यू प्रति ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफुलाई उपलब्ध ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने जानकारी दिए ।
नेकपा विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा साउन ६ गते पक्राउ परेका पत्रकार ओम हमाल सर्वोच्च अदालतबाट भदौ १७ गते हिजो रिहाइको आदेशलगत्तै पुनः पक्राउ परेका छन् ।
हमालको रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका हमाललाई सर्वोच्चको गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

Facebook Comments Box
TOP