स्याङ्जा : चालकलाई माला, चालक दङ्ग यात्रु अच्चम !

प्रकाश डोटेल/स्याङ्जा :
ट्राफिकको ईसारामा राजमार्गमा गुडिरहेको सवारी साधन रोकियो, सवारी जाँच भन्दै चालक र सह–चालक साधनबाट झरे तर सवारी जाँचको सट्टा एक्कासी गलामा खादा र माला चालक दङ्ग यात्रु अच्चम ! जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरियो ।

“दुर्घटना न्यूनिकरण गर्नका लागि सचेतना स्वरुप सार्वजनिक सवारी साधनका चालक र सह–चालकलाई सम्मान गरेका छौं ।” ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भन्नुभयो, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।”
चालक सह–चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्नु, क्षमता भन्दा बढि यात्रु नराख्नु, गलत स्थानमा पार्किङ् नगर्नु लगाएतका विषयमा प्रशिक्षण समेत दिईएको थियो । सवारी साधनमा यात्रारत यात्रुलाई समेत सवारी चलाएको समयमा चालकको अस्वभाविक गतिविधि भएमा तत्काल सचेत गराउन समेत जानकारी गराईएको थियो ।
“दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुलाई कारबाही गरेर भन्दा सकारात्मक सन्देश दिनका लागि खादा र मालाले सम्मान गरेको हो ।” चालक सह–चालकलाई सम्मान गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भन्नुभयो, “हाम्रो सानो गल्तिमा पनि ट्राफिक प्रहरीले राजश्व काटेर कारबाही गर्छ भन्ने मानसिकताको अन्त्य होस भनेर सम्मानको शैली अपनाएका छौं ।”
चालकको सानो होस वा ठूलो जस्तोसुकै गल्तिमा ट्राफिक प्रहरी कारबाही गर्ने परम्पराको छोड्दै सम्मान गरेकोमा आफु दंग परेको स्थानीय महेशबहादुर थापाले बताउनु भयो । स्थानीय सुरक्षा निकायको सक्रियतामा गरिएको सम्मानले चालकहरुलाई कडाईका साथ ट्राफिक नियम पालना गर्न बाध्य हुने थापाको विचार छ ।
पछिल्लो समय सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउने संख्या बढिरहेको सन्दर्भमा चालक सम्मानले अकालमै ज्यान गुमाउनेको संख्यामा कमि आउने विश्वास स्याङ्जाका डिएपी नविनकृष्ण भण्डारीले गर्नुभयो । चालक र सह–चालक सचेत भए दुर्घटना शुन्यमा आउने भण्डारीले बताउनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई ‘कडा हैन मिठो कारबाही’ भन्ने अभियान चलाएको ट्राफिक प्रमुख रानाभाटले बताउनु भयो । उहाँका अनुसार विगत १ वर्षदेखि संचालित अभियानले दुर्घटनामा कमि आएको छ । दुर्घटनालाई शुन्यमा ल्याउन ट्राफिक प्रहरीले अनेक उपाय अबलम्बन गरेको समेत रानाभाटले बताउनुभयो ।
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…