सरकारले नीजि क्षेत्रलाई बेवास्ता गर्यो – श्रेष्ठ ।

भवानी अधिकारी/स्याङ्जा :
पाल्पा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महोनप्रसाद श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई वास्ता नगरेको बताउनुभएको छ । बिभिन्न वहानामा ब्यवसायीलाई प्रताडित गरेको बताउदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्न नसकेकोमा जोड दिनुभयो ।

आन्तरिक पर्यटन बर्ष सन् २०२० लाई प्रचारप्रसार एवं अध्ययन अवलोकन गर्ने उदेश्य सहित केही जिल्ला भ्रमणको लागि निस्केको पाल्पा उद्योग वाणिज्य संघलाई शुक्रवार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आफनो कार्यालयमा गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सो बताउनुभएको हो ।
आन्तरिक पर्यटन बर्षलाई सफलतापूर्वक सम्पन्न गर्न र उपलब्धि समेत हासिल गर्न पाल्पा र स्याङ्जाका उद्योग ब्यावसायीबीच सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने पाल्पा र स्याङ्जालाई सिद्धवावातर्फको मार्गले वाधा पुरयाएको बताउदै अध्यक्ष श्रेष्ठले सुरुङ मार्ग निर्माणका लागि दुबै उद्योग वाणिज्य संघले सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो ।
६ दशकअघि स्थापित पाल्पा जिल्ला उद्योग वाणिज्य संघले जाइकाको सहयोगमा कालीगण्डकीबाट लिफ्टिङ गरेर खानेपानी योजना, कृषि, पर्यटन ब्यवसाय संचालन गरेको जानकारी दिनुभयो । काठमाण्डौं, भक्तपुर, पाटन पछिको सुन्दर, पौणारिक र रमणीय शहरका रुपमा चिनिएको तानसेन बजारको अस्तित्व कायम राख्न ३ वटै तहका सरकारले सहयोग गर्नुपर्नेमा उहाको जोड छ ।
पाल्पा उद्योग वाणिज्य संघका पदाधिकारी सहित झण्डै ४० जनाको टोलीलाई स्वागत एवं सम्मान गर्दै स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले स्याङ्जाको गतिबिधीका बारेमा जानकारी गराउदै राम्दी पुल जीर्ण भएका कारण उद्योग ब्यवसायी र स्थानीयबासीले धेरै कठिनाई भोग्नुका साथै बढी शुल्क तिर्न वाध्य हुनु परेको बताउनुभयो । साथै, उहाले पाल्पा, गुल्मी, अर्घाखाची, कास्की, तनहुँ लगायतका वरपरका छिमेकी जिल्लाहरुका ब्यवसायीबीच सहकार्य गर्दै जिल्ला अनुसारका उत्पादन तथा उद्योग संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं महासचिव भिमकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रमपछि दुवै जिल्ला उद्योग वाणिज्य संघले आ आफना जिल्लाकातर्फवाट मायाको चिनो समेत आदानप्रदान गरिएको थियो ।

Facebook Comments Box
TOP