वालिङ नगरपालिकाले खेलमैदान बनाउँछ : नगर प्रमुख खाँण ।

तोलाकान्त बगाले/वालिङ :
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले १४ वटै वडामा खेलमैदानहरु निर्माण गर्ने योजनामा नगरपालिका रहेको बताउनुभएको छ । क्लब तथा संघ संस्थाले आवश्यक प्रक्रिया पूरा गरी खेलमैदान निर्माणका लागि माग गरेमा नगरपालिकाले खेलमैदान निर्माण गरिदिने बताउनुभएको हो ।

“खेलकुदका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको छ” वालिङ ५ बाहुनडाँडामा दर्शन युथक्लबले आयोजना गरेको साविक वडास्तरीय भलिबल प्रतियोगिताको समापन गर्नुहुँदै नगर प्रमुख खाँणले भन्नुभयो, “बिनियोजित बजेटलाई खेल क्षेत्रको विकास, खेलमैदान निर्माण र खेलाडीहरुको क्षमता विकासमा खर्च गर्नेछौं ।”

बिजयी समूहलाई पुरस्कार वितरण गर्नुहुँदै नगर प्रमुख खाँणले वडास्तरमा हुने यसप्रकारका प्रतियोगिताले नयाँ नयाँ प्रतिभाहरु प्रष्फुटित हुने अवसर मिल्ने बताउनुभयो ।

उहाँले खेलकुद प्रतियोगिताहरुबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी वडाको प्रतिनिधित्व हुँदै नगर तथा अन्य ठाउँमा हुने प्रतियोगिताहरुमा सहभागिता जनाई अझै उत्कृष्टता प्राप्त हुने गरी लाग्न पनि सुझाव दिनुभयो ।

“प्रतियोगिता सञ्चालनका लागि ब्यक्ति ब्यक्तिबाट आर्थिक तथा अन्य सहयोगहरु लिनुभएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आम्दानी खर्चलाई एकदमै पारदर्शी गर्नुस् आवश्यक सहयोग नगरपालिकाले गर्ने छ ।”

समापन समारोहमा वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीले वडा कार्यालयले आगामी दिनहरुमा पनि खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

बिहीबार सम्पन्न भलिबल प्रतियोगिताको उपाधी आँधीखोला पिस युथक्लब बयरघारीले जितेको छ । साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक दर्शन युथक्लबलाई २–० को सोझो सेटले पराजित गरी उपाधी आफ्नो पक्षमा पारेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सात्वना भएका समूहले क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । क्लबका अध्यक्ष हुमबहादुर सेनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन छबि आलेले र स्वागत केशब मल्लले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP