श्रीकृष्णजन्माष्टमी र भगवान श्रीकृष्ण

लेखक -डुम्रे

ज्यो. चक्रपाणी डुम्रे  ( शास्त्री) :
       भाद्र कृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व हो । कृष्णजन्माष्टमी। कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको जन्मोत्सवको दिन हो। श्रीकृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान्  भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्दछन । कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको उल्लेख छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी भक्तहरूले ब्रत बसी रातभर जाग्राम बस्ने चलन छ । यस  दिन धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्ण्को रथयात्रा गर्ने र झुला झुलाउने पनि गरिन्छ ।  दिनभर भक्तहरु उपवास बसी मध्यरातमा कृष्णको प्रतिमालाई पूजा गरी भजन कृतन गाउने गर्दछन् । 

     महाभारतमा उल्लेख भए अनुसार प्राचीनकाल द्वापर युगको अन्त्यमा भारतको मथुरा राज्यमा उग्रसेनले राज्य गर्दथे  । उग्रसेनालाई उनकै पुत्र कंसले राजगद्दीबाट हटाएर आफु राजा भएको थियो । उग्रसेनकी पुत्री देवकीको विवाह मथुराकै वसुदेवससंग भएको थियोे ।कंस राजगद्दीमा बसेपछि आतंकको राज्य चलायो। उ आफ्नै बहिनी देवकी र बसुदेवलाई घर पुर्याउन जादा ” देवकीको आठौं पुत्रले  तेरो बध गर्नेछ”  भन्ने  आकाशवाणी सुन्यो ।त्यसपछि कंसको क्रोधको सिमा रहेन । तेसपछी देवकी र बसुदेवलाई कारागारमा थुन्यो  र उसले देवकी को छैटौं गर्ब बाट जन्मका शिशुलाई निर्ममता पुर्बक हत्य गरो ।

सातौ गर्भलाई भने वसुदेवकी जेठी पत्नीको गर्भमा सारेको कथा पाइन्छ तिनै सातौ पुत्र बलराम कृष्णका दाजु हुन । भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्र बुधबार रात्रीको समयमा देवकिका गर्भबाट आठौं बालक भगवान श्रीकृष्णको जन्म भएको हो ।उनै भगवान श्रीकृष्णले कंसको बध गर्नु भएको हो। भगवान श्रीकृष्णलाई विष्णुको आठौं अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप जन्माष्टमी पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो ।यहि युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

      भगवान श्रीकृष्णले आफ्नै सारथीका रुपमा रहेका अर्जुनलाई उनको दीनहीनताप्रती सहानुभूति दर्शाउदै ज्ञान,कर्म र भक्ती भएको गीताको उपदेश दिनुभएको छ। यसमा अठार अध्यायहरु रहेका छन् । गीता त्यो दिब्री ज्ञान हो , जसलाई वेदान्तको सारभूत ज्ञान मानिएको छ । गीता अध्यात्मबिज्ञानसम्बन्धि अहिलेसम्म उपलब्ध कृतिहरूमा अद्वितीय मानिन्छ । आज पश्चिमी मुलुकमा र आधुनिक विद्याकेन्द्रहरूमा समेत अनिवार्य रुपमा गीताको अध्यन अध्यापन गर्ने गरिएको देखिन्छ । विश्वमा प्रचलित धेरै भाषाहरुमा गीताको अनुवाद भैसकेको छ। गीताको ज्ञानयोग ,कर्मयोग र भक्तियोगको धारण गरेर परम सिद्धि आवस्यक देखिन्छ ।गीतामा ज्ञान समान पबित्र अर्को कुनै चिज नभएको उल्लेख गरिएको छ। त्यस्तै भक्तीयोगका माध्यम बाट परम पद पाप्त गरेका कुरा पनि उल्लेख छन् । राजा जनकले कर्म गरेरनै सिद्धि पाप्त गरेका कुराहरु गीतामा उल्लेख छन् ।
  भगवान श्रीकृष्णले गीता भन्नु भएको छ “कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन” कर्म गर्नमा तिम्रो अधिकार छ , तर कर्मको फलमा कहिल्यै अधिकार छैन । त्येसैले तिमी कर्मफल प्राप्तिको कारण नबन । त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले उक्त कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउछ ।

जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ तेस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन । आज शिक्षक, पत्रकार, वकिल,अधिकृत ,नेता, न्यायाधीश , ब्यापारी,कर्मचारी , विद्यार्थी सबैले आ-आफ्नो कर्म गरेका छन् तर पनि सन्तुष्ट छैनन् यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् । तसर्थ कर्म फल प्रति कुनै पनि अपेक्षा नराखी निरन्तर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ ।

   आज बर्सेनि श्रीकृष्णजन्माष्टमी मनाउदै गर्दा भगवान श्रीकृष्णले  भगवतगीतामा उल्लेख गरेका ज्ञानलाई धारण गर्न आवश्यक देखिन्छ। जीवनलाई सार्थक बनाउन सत्कर्मको आवश्यक छ। फलमा अपेक्षा नराखी सदैव परहित र परसेवाका निम्ति गरिएका कर्मनै सत्कर्म हुन् । तसर्थ हामीपनि निस्काम कर्म तर्फ अभिमुख हौं । यसमा नै सबैको भलो छ।अस्तु।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष पनि हुन्।)

Facebook Comments Box
TOP