एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, भन्छन्–प्रलोभनको उम्मेदवारी हैन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए )को आगामी नेतृत्वको लागि बेलायत निवासी ब्यबसायी कुल आचार्यले उम्मेदवारी दिने भएका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।

एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका उनले एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष पदमा आचार्य निर्बाचित भएका थिए।

अनलाईनखबरसँग कुराकानी गर्दै आचार्यले भने, ‘एनआरएनमा आफ्नो व्यक्तिगतभन्दा पनि संस्थागत एजेण्डालाई नै प्राथमिकता दिने प्रचलन छ। त्यसैले यहाँ व्यक्तिगत हारजीत गौण हुनजान्छ। एनआरएन अभियानमा मैले हासिल गरेको अनुभवको आधारमा साथिहरुसँग सरसल्लाह गरेर नै संघको केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु।’

तर, सम्पूर्ण एनसीसीहरुको अधिबेशन सकिएपछिमात्र उम्मेदवारी घोषणासभा र कार्ययोजना सार्बजनिक गर्ने बताउदै उनले गैरआबासीय नेपालीहरुको जिज्ञासा मेटाउनका लागि अहिलेनै ईच्छा जाहेर गरेको बताए।

१०औं अधिबेशनको नेतृत्व सुनिश्चिताका लागि अहिले अध्यक्षमा उम्मेदवारी दिने र पछि पुन: उपाध्यक्ष दोहोर्‍याउने रणनीति हो ?’ भन्ने कतिपयको आरोप छ नि ! भन्ने जिज्ञासामा उनले मूल्यांङ्कन गर्ने र हेर्ने आ- आफ्नो आँखामा भर पर्ने बताए।

गलत हल्ला फैलाउनु र ‘प्रोपागान्डा’रच्नु उहाँहरुको आफ्नै कुरा हो भन्दै आचार्यले भने,’मेरो उम्मेदवारी नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा लागि हो। र मैले कुनै पनि आश्वासन,अग्रिम सहमति,स्वार्थ र प्रलोभनका लागि उम्मेदवारी तेस्राएको हैन।’

उनले अध्यक्ष पदका लागि चुनावी मैदानबाट पछि नहट्ने संकेत गरे। ‘जुन पदमा अगाडि बढ्छु भनेर घोषणा गरेको छु।त्यसैमा लड्छु। म पछि हटेको ईतिहास नै छैन,’ आचार्यले थपे।

त्यसो भए तपाई‌ं शतप्रतिशत नै चुनाव लड्ने नै हो ? भन्ने अर्को प्रश्नमा भने उनले संघको हित र भलोका लागि आँफू सधैँ सकारात्मक रहने बताए। सहमति गर्ने नाममा कसैलाई काखा,कसैलाई पाखा गर्ने व्यवहार गर्नुभन्दा खुल्ला प्रतिस्पर्धामा जाँदा राम्रो हुने बताउदै आचार्यले भने, ‘अहिले नै प्रतिशतमा नजाउ तर शतप्रतिशत नै म चुनावी मैदानमा उत्रे भने बुझ्दा राम्रो होला।’

उनले संसारभरका गैरआवासीय नेपालीहरुको मतले नै परिणाम दिने भन्दै चुनाबी मैदानमा आँफू बलियो रहेको संकेत गरे।’मेरो स्वार्थका लागि भन्दा उम्मेदवारी आएको हैन। यसलाई हल्का र खेलाची रुपमा नलिन अनुरोध गर्दछु,’ आचार्यले थपे।

पद, परिवार, नातावाद, कृपावाद, लोभ, मोह भोगबाट माथि उठ्न सक्नुपर्छ भन्दै यसअघि नै वर्तमान अध्यक्ष भवन भट्टले पुन नेतृत्वको दावी नगर्ने बताइसकेका छन्। तर, दुईपटकसम्म उपाध्यक्ष पदमा रही काम गरेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले भने अध्यक्ष पदको आफू स्वभाबिक उम्मेदवार रहेको बताउँदै आएका छन्। एनआरएनको आगामी नेतृत्वका लागि दावी गर्दै मैदानमै उत्रिएका पन्त र आचार्य हालसम्मका मुख्य प्रतिस्पर्धी हुन्।

आचार्य नेपाली कांग्रेस निकट मानिन्छन् भने पन्त नेपाल कम्युनिस्ट पार्टी निकट। एनआरएनएलाई स्वतन्त्र, गैरनाफामुलुक र गैरराजनीतिक संस्था भनिए पनि अन्तर्राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रभावले ठूलो महत्व राख्दै आएको छ।

Facebook Comments Box
TOP