गल्याङ नगरपालिकाले कृषकहरुलाई चार तहमा वर्गिकरण गर्यो ।


नारायण विश्वकर्मा/गल्याङ :
कृषिको क्षेत्रमा विभिन्न अभियान चलाउदै आएको गल्याङ नगरपालिकाले कृषकहरुलाई चार तहमा वर्गिकरण गर्ने भएको छ । कृषि र पशुको योजना तर्जुमा गोष्ठीले नगरपालिका भित्रका कृषकलाई चार तहमा वर्गीकरण गर्ने निर्णय गरेको हो । कृषकलाई वर्गिकरण सहित दुध तथा सुर्यमुखी फुलको खेती विस्तारको बारेमा नगरपालिकाले विभिन्न योजना समेत बनाएको छ ।
नगरपालिकाले कार्यविधि बनाई सबै कृषकलाई परिचयपत्र बाँड्ने र परिचयपत्रका आधारमा अनुदान उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
गोष्ठीको निर्णयबारे जानकारी दिदै गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले नगरपालिका भित्रका कृषकहरुलाई चार तहमा वर्गिकरण गरिएको बताउनुभयो । उहाँका अनुसार व्यवसायिक, व्यवसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी चार तहमा कृषकहरुलाई बाँडिने भएको हो ।
व्यवसायिक कृषकमा कम्तिमा ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा वा दश रोपनी जग्गामा व्यवसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यवसायिक कृषि खेतीमा संलग्न हुने कृषकहरु पर्दछन् ।
यस्तै, व्यवसायिक उन्मुख कृषकहरुमा २० देखि ४९ वटा दुधालु माउ पशु वा २० देखि ५० बाख्रा वा तीन रोपनीमा व्यवसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषि खेती गर्ने किसानहरुलाई राखिएको छ ।
नगरपालिकाले बनाएको मापदण्डमा साना किसान अन्तर्गत पाँच देखि १९ वटा सम्म दुधालु माउ पशु वा सोही संख्यामा बाख्रा वा एक देखि तीन रोपनीसम्म व्यवसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषि खेती गर्ने किसानहरुलाई राखिएको छ ।
यस्तै, निर्वाहमुखी किसान अन्तर्गत पाँच वटा सम्म दुधालु माउ पशु वा एक रोपनी भन्दा कम क्षेत्रमा खेती गर्ने वा एक देखि १५ वटासम्म बाख्रा पालन गर्ने किसानहरुलाई राखिएको छ ।
परिचयपत्र भने सबै वर्गका किसानहरुलाई वितरण गरिने र अनुदान पनि सोही अनुसार वितरण गर्ने पशु शाखा प्रमुख अर्यालले बताउनुभयो ।
यस्तै, गोष्ठीले कोदो तथा गेडागसडी खेतीको संरक्षणका लागि उत्पादनमा आधारित अनुदान दिने निर्णय गरेको छ । यसैवीच, गोष्ठीले यो वर्ष नगरपालिकाबाट दैनिक पाँच हजार लिटर दुध उत्पादन गर्ने निर्णय गरेको छ ।
यसका लागि कृषकहरुलाई सक्दो सहयोग गर्ने नगरपालिकाले नीति लिएको छ । दुध विक्रिमा प्रतिलिटर १५ रुपैयाँ अनुदान वितरण गर्ने निर्णय पनि भएको छ ।
यसैगरी भैंसी वा गाई खरिदमा लाग्ने नौ प्रतिशत व्याज मध्ये चार प्रतिशत नगरपालिकाले व्यहोर्ने भएको छ । यसैगरी गोठ निर्माणमा तथा मेसिनमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरिएको छ ।
यस्तै दुई दिनसम्म चलेको गोष्ठीले सुर्यमुखी खेतीका लागि विशेष योजना ल्याएको छ । गोष्ठीले नगरपालिकाका सबै क्षेत्रमा सुर्यमुखी उत्पादन गरी तेलको निर्यात समेत गर्ने लक्ष्य लिएको छ ।
पानी नजम्ने प्रायः सबै ठाउँमा उत्पादन हुने भएकाले गल्याङ नगरपालिका यसका लागि उपयुक्त क्षेत्र रहेको गोष्ठीमा सहभागी भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्र स्याङ्जाका प्रमुख विज्ञ विश्व गौतमले बताउनुभयो ।
दुई सिजनमा उत्पादन हुने सुर्यमुखी खेती अहिलेको समय र माघको अन्तिममा लगाउने सकिने बताइएको छ ।
यसको विस्तारका लागि किसानलाई विउ र प्रविधि उपलब्ध गराउने कृषि शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो ।
गोष्ठीमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी तथा गल्याङ नगरपालिका पशु शाखा प्रमुख श्रिदेब चौधरी लगायतको उपस्थिति रहेको थियो ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…