बाढी, पहिरो र डुबान: यस्ताे छ देशभरकाे क्षति र सडककाे अवस्था, सिद्धबाबामा फेरि पहिरो ।
काठमाण्डाै – बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म देशभरमा ६० जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयले २४ जना महिला र ३६ जना पुरुषको ज्यान गएको पुष्टि गरेको हो । काठमाण्डौमा ३ जना, ललितपुर, रौतहट र भोजपुरमा ५-५ जना, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४-४ जना, खोटाङ र काभ्रेमा ३-३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २-२ जना तथा इलाम, पाँचथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १-१ जना गरी ६० जनाको ज्यान गएको हो ।
त्यसैगरी देशभरमा बाढी, पहिराे र डुबानमा परेर २१ पुरुष र १७ जना महिला गरी ३८ जना घाइते भएका छन् । धनकुटामा ८ जना, मकवानपुरमा ४ जना, ललितपुर र सिराहामा ३-३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २-२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १-१ जना घाइते भएका हुन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
बाढी, पहिराे र डुबानका क्रममा अझै पनि २६ जना हराइरहेका छन् । प्रहरीका अनुसार १४ जना पुरुष र १२ जना महिला गरी २६ जना हराइरहेका हुन् । डोल्पामा ७ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३-३ जना तथा काठमाण्डौ, ललितपुर, झापा, सुनसरी, रौतहट, सिराहा, धनुषा, धादिङ र दाङमा १-१ जना गरी २६ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य जारी छ ।
बाढी, पहिरो र डुबानमा परेकामध्ये आइतबार बेलुकासम्म १ हजार ४ सय ४४ जनाको उद्धार गरिएको छ । काठमाण्डौमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी १ हजार ४ सय ४४ जनाको उद्दार गरी सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।
यसै क्रममा १० हजार ३ सय ८५ घरधुरीका बासिन्दा विस्थापित भएका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि २२ जिल्लाका ४८ ठाउँमा आवश्यक खोज उद्धारका सामग्रीसहित ८ हजार १ सय नेपाली सेना खटिएका छन् । उनीहरुले खोज तथा उद्धार, राहत वितरण, उपचार, राजमार्ग तथा सहायक मार्ग खुलाउने लगायतका काम गरिरहेका नेपाली सेनाले जनाएको छ ।
सिद्धबाबामा फेरि पहिरो
पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबामा खसेको पहिरोले सिद्धार्थ राजमार्ग फेरि बन्द भएको छ । आइतबार बिहान पहिरो हटाएपछि एकतर्फी खुलेको सिद्धार्थ राजमार्ग दिउँसोबाट फेरि बन्द भएको हो । अहिले सडक खुलाउने पहल भइरहेको छ ।
मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडकमा पनि पहिरोका कारण पुरै अवरोध रहेको छ । रामेछाप सेलेघाट सडकखण्ड, मुस्ताङको बेनी जोमसोङ सडकखण्ड, मनाङको बेशिसहर मनाङ सडकखण्ड, सिद्धिचरण राजमार्ग, भोजपुरको गजुरमुखी, धनकुटाको पाख्रीबास हिले भोजपुर सडकखण्ड, रौतहटको चपुरगौर सडकखण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड, कालिकोट कर्णाली राजमार्गको सडक अवरोध खुलाउने प्रयास भैरहेको छ ।
त्रिभुवन राजपथ, पृथ्वी राजमार्गमा भने अवरोध नरहेको प्रहरीले जनाएको छ । (उज्यालो)
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…