लागूऔषध ओसारपोसारको ट्रान्जिट प्वाइन्ट बन्दै स्याङजा, लागूऔषध निरुत्साहित अभियान सुरु ।

प्रतीक्षा काफ्ले / स्याङजा :
सिद्धार्थ राजमार्गका कारण हुँदै लामो दूरीका सवारी चल्ने भएपछि स्याङजा जिल्ला पछिल्लो पटक लागूऔषध ओसारपोसारको ट्रान्जिट प्वाइन्ट बनेपछि प्रहरीले त्यसमा कडाइ अभियान थालेको छ  ।


भारतबाट सुनौली हुँदै लागूऔषध ल्याउने तथा पोखरा र आसपासका जिल्लामा कारोबार बढेपछि जिल्ला प्रहरी कार्यालय स्याङजाले विभिन्न स्थानमा विशेष सुराकीको टोली परिचालन गरेको छ । प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले सादा पोसाकमा प्रहरी खटिनुका साथै विशेष सुराकीको टोलीमा प्रहरीभन्दा बाहिरी व्यक्ति परिचालन गरिएको बताउनुभयो ।
‘सुरक्षाको दृष्टिकोणले टोली परिचालन गरिएको स्थान तोक्न मिल्दैन,’ भण्डारीले भन्नुभयो, ‘जिल्लाका विभिन्न स्थानमा टोली खटाएर चेकजाँच मजबुत बनाएका छौं । अन्य जिल्लामा पनि टोली परिचालन गरिएको छ ।’ उहाँले लागूऔषध कारोबारमा निरुत्साहित गर्नका लागि विशेष योजना अगाडि सार्नुपरेको बताउनुभयो ।

प्रहरीले स्याङ्जा र पाल्पा सिमा राम्दी, वालिङ र पुतलीबजारको क्षेत्रमा लागूऔषध कारोबारी बढी संख्यामा पक्राउ गर्न सफल भएको बताएको छ । अनुसन्धानले लागूऔषध ओसारपोसारमा सुस्त मानसिकता, अपांग र बालबालिका प्रयोगमा ल्याउने गरेको देखाएको छ ।
यसैगरी केही दिनअघि पुतलीबजार–१ ट्याक्सी चोकस्थित पोखरा महानगरपालिका–१९ लामाचौर कास्कीका २४ वर्र्षीय आशिष नेपाली पक्राउ परे । उनले बोकेको झोला खानतलासी गर्दा लागूऔषध फेनारगन ११० एम्पुल, बुर्फिन ११० एम्पुल, डाइजेपाम ११० एम्पुल फेला र्पयो । अहिले उनी जिल्ला अदालत स्याङजाले पुर्पक्षका लागि जिल्ला कारागारमा छन ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का १८ वर्र्षीय सुरज भुषाल पुतलीबजारमा पक्राउ परे । उनी यात्रारत गाडीमा झोला छाडेर फरार थिए । प्रहरीले झोला खानतलासी गर्दा लागूऔषध डाइजेपाम ११९, नुफिन १२०, फेनारगन १२०, नाइट्राजेपाम २० ट्याब्लेट र प्यारासिटामोल ४ ट्याब्लेट फेला पारेको बताएको छ । उनी पनि पुर्पक्षका लागि कारागार पुगेका छन ।

वालिङ नगरपालिका–२ का ३९ वर्र्षीय कुमार परियारलाई प्रहरीले गल्याङ बजारमा पक्राउ र्गयो । उनीसँगै वालिङका फनकुमार गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको हो । विशेष गरी स्थानीय युवाभन्दा पनि जिल्ला बाहिरका व्यक्ति लागूऔषधसहित पक्राउ पर्नुले यो जिल्ला लागूऔषध ओसारपोसारको ट्रान्जिट प्वाइन्ट हुँदै गएको सरोकारवालाको बुझाइ छ ।
पोखरा, काठमाडौं, बुटवल, भैरहवा र सुनौलीलगायत स्थानमा चारैतिर प्रवेश गर्न मिल्ने छोटो रुट भएकाले स्याङ्जा लागूऔषधको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुँदै गएको हो,’ प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताउनुभयो । लागूऔषध ओसारपोसार कारोबारमा १६ देखि २१ वर्षका युवा बढी संलग्न हुने गरेको अनुसन्धानले देखाएको छ ।
लागूऔषध ओसारपोसार र प्रयोगमा महिलाको पनि भूमिका उत्तिकै देखिन्छ । यहाँ लागूऔषध कारोबार गर्नेको संख्या बढेकाले कडाइका साथ चेकजाँच गर्न सुरु गरिएलगत्तै भारी मात्रमा लागूऔषधसहित कारोबारी तथा प्रयोगकर्ता पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box
TOP