स्याङ्जा तथा आसपासमा निरन्तर वर्षा, सतर्क रहन मौसमविदको आग्रह ।

अमृत पौडेल/स्याङ्जा
गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले स्याङ्जा सहितका जिल्लाहरुमा निरन्तर वर्षा भईरहेको छ । स्याङ्जा तथा आसपासका जिल्लाहरु पाल्पा,चितवन, नवलपरासी, कास्की लगायतका जिल्लाहरुमा निरन्तर वर्षा भईरहेको हो । केही क्षेत्रमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्न सक्ने मौसम विदले बताएकाछन् ।
यी क्षेत्रमा शनिबार दिउँसो देखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार स्याङ्जा चितवन, नवलपरासी, पाल्पा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।
निरन्तर वर्षाका कारण स्याङ्जा तथा आसपासको जनजीवन प्रभावित भएको छ । ठुलो पानी एकै पटक नपरेको भए पनि निरन्तर बर्षाले ग्रामिण सडक विगारेको बताईएको छ ।
गएको २४ घण्टामा वालिङ क्षेत्रमा ४० दशमलव ८ मिलिलिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पोखरा अन्तर्गत वालिङका पार्टटाईम अव्जर्भर लोक प्रसाद शर्माले जानकारी दिनुभयो ।


कतिदिन रहन्छ निरन्तर वर्षा :
जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ भने पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थान तथा मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ । आज राति देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदली हुनेछ भने पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पूर्व तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ र उच्च हिमाली भूभागहरुमा हिमपातको पनि सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै भोलि सोमबार देशैभरी आंशिकदेखि सामान्य बदली रहने र पूर्वका केही स्थान तथा मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै भोलि रातिपनि देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुने तथा पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानहरुका साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आउँदो मंगलबार दिउँसो पनि देशैभरी आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरु तथा मध्य र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाइएको छ । मंगलबार राति देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई वर्षाको सम्भावना रहेको छ ।

Facebook Comments Box
TOP