फेदीखोलाकोे सामुदायिक वनमा अम्रिसो खेती ।

प्रकाश डोेटेल/स्याङ्जा :
युवा शक्ति बिदेशीने र बृद्धहरुले काम गर्न नसक्ने भएपछि वन जंगल गएर घाँस दाउरा गर्ने चलन हराएसँगै वनमा उन्यु तथा झाडी बढेको छ । उनुत्पादक झाडीलाई व्यवस्थापन गर्दै स्याङ्जाको फेदीखोला गाउँपालिकाको सामुदायिक वनले भने नमुना कार्य शुरु गरेको छ ।
वन जंगलमा हुने अनावश्यक झाडीलाई व्यवस्थापन गर्दै उत्पादनमूखी बिरुवा लगाउन फेदीखोला गाउँपालिकाको चिप्लेटी नमुना सामुदायिक वन उपभोक्ता समूह अम्रिसो लगाउँन भ्याईनभ्याई भएको छ ।
अहिले झाडी, उन्यु तथा अस्तव्यस्त झार पन्छाएपछि वनको मुहार नै फेरिएको छ । यस वनपाखामा लहलह अम्रिसो झुलेको देखिन्छ । उत्पादन नहुने वस्तुलाई विस्थापित गर्दै उत्पादनमूखी अम्रिसो लगाएपछि स्थानीय १ सय ५३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

Amriso Kheti

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा (फेको फ्यान) को वन तथा वातावरण कार्यक्रम अन्तर्गत समूहमा आबद्ध १ सय ५३ घरधुरीले सामुदायिक वनमा सामूहिक अम्रिसोको खेती गरेका हुन् । समूहमा आबद्ध घर परिवारको जीविकोपार्जन गर्दै आयआर्जनमा सक्रिय बनाउन उपभोक्ता समुहले वनको २ हेक्टर क्षेत्रफलमा अम्रिसो लगाएको समूहका अध्यक्ष दीपेन्द्र सुवेदीले बताउनु भयो ।

“स्थानीयले सामुदायिक वनमा मात्र होइन, निजी रुपमा रहेका फालिएका जमिनमा समेत अम्रिसो लगाएका छन् ।” अध्यक्ष सुवेदीले भने, “झाँडी वनमा उनुत्पादक झार, उन्युलाई सफा गर्दै बैज्ञानिक वन व्यवस्थापन गरि अम्रिसो लगाईएको छ ।”

चिप्लेटी सामुदायिक वनका उनुत्पादक बिरुवालाई व्यवस्थापन गरेर आयआर्जन गर्न थालेपछि फेदिखोला गाउँपालिकाले सामदायिक वनका समूहलाई लघुउद्यम तालिम दिने र उत्पादन भएका बस्तुको बजारीकरण गरिदिने पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भयो । उहाँका अनुसार कृिषमा जोड दिएको गाउँपालिकाले कृषकले उत्पादन गरेको वस्तु ढुक्कसँग बजरीकरण गरिनेछ ।

स्याङजामा ५ सय १८ सामुदायिक वन सूचीकृत भएपनि डिभिजन वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापनको कार्य योजना निर्माण गर्दै छ । जिल्लाका ५ सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गर्न लागिएको वन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP