स्याङ्जाका सुन्तला कृषकलाई ८० लाख बढिको सामाग्री वितरण ।

प्रकाश डोटेल / स्याङ्जा :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ सुन्तला सुपरजोन स्याङ्जाले चालु आर्थिक वर्षमा सुपरजोन अन्र्तगत समूहमा आबद्ध सुन्तला कृषकको क्षमता अभिबृद्धि र प्रोत्साहनका लागि ८० लाख भन्दा बढिको सामाग्री विरतण गरेको छ ।

जिल्लाका ९७ वडा मध्ये सुपरजोन लागु भएका १७ वडाका सुन्तला उत्पादक कृषकको क्षमता बढाउन औजार उपरकरण खरिदमा ३० लाख रुपैयाँ, उत्पादन उत्पादकत्व क्रियाकलापमा २० लाख, सुन्तलाका बिरुवामा आत्मनिर्भर बनाउन २० लाख र कृषक प्रोत्साहनमा १० लाख ५० हजार रुपैयाँ खर्च गरेको हो । जिल्लाका ११ मध्ये ४ स्थानीय तहमा सुपरजोन लागु भएको छ ।

“चालु आर्थिक वर्ष २०७५/०७६ मा बगैचा व्यवस्थापनमा आरी, कैची र बगैचाका रोगी, सुकेका बिरुवा हटाउन प्रयोग हुने सामाग्री (चेन स्व) वितरण गरियो ।” सुपरजोन संचालक समितिका अध्यक्ष बोधराज अर्यालले भन्नुभयो, “बजेटको आधार र मागलाई ध्यानमा राखेर कृषकको क्षमता बढाउन जोनको ५० र कृषकको ५० प्रतिशत लगानीमा सामाग्री खरिद गरेर वितरण गरेका हौं ।”

“सुपरजोन अन्र्तगत १ सय ५५ समूह, सहकारी र उद्यमी गरि ३ हजार १ सय कृषक आबद्ध छन् ।” अध्यक्ष अर्यालले भन्नुभयो, “उनीहरुलाई सुन्तलाका बिरुवमा आत्मनिर्भर बनाउन चालु वर्षमै स्थापित ५ हाईटेक प्रविधिका नर्सरी मध्ये ३ नर्सरीमा उत्पादन भएका २७ हजार सुन्तलाका बिरुवा कृषकको बगैचामा पुगेका छन् ।”

सुपरजोन लागु भएको क्षेत्रलाई नयाँ बिरुवामा आत्मनिर्भर बनाउने योजना रहेको जोनले जनाएको छ । जोनका अनुसार उत्पादन उत्पादकत्व क्रियाकलाप (पोष्ट हार्भेट) अन्र्तगत माग र बजेटलाई आधार बनाएर २० लाखको लागतमा १ हजार ६ सय ५० थान क्रेट, १ सय १३ भ¥ञ्याङ् र १ सय थान आधुनिक काटा वितरण गरिएको छ ।

“पोष्ट हार्भेट अन्र्तगत फल टिप्न भर्याङ, फल राख्न क्रेट र सुन्तला जोख्न काटा दिएका छौं ।” जोन संचालक समितिका सचिव मुक्ति अधिकारीले भन्नुभयो, “सुपरजोन लागु भएपछि सुन्तला खेतीमा आकर्षण बढ्दै गएको छ ।” जोन मार्फत क्षमता अभिबृद्धि, तालिम र सरसल्लाह दिन थालेपछि कृषकको आकर्षण बढ्को उहाँको भनाई छ ।

स्याङ्जामा २ हजार बढि हेक्टरमा सुन्तला खेती गरिए पनि १ हजार १ सय ५७ हेक्टरमा खेती गर्ने कृषक सुन्तला सुपरजोन आबद्ध छन् । उत्पादनका आधारमा कृषक प्रोत्साहनमा १० लाख ५० हजार नगद अनुदान दिन लागेको समितिका सह–सचिव ताराप्रसाद अर्यालले जानकारी दिनुभयो । बगैचाको वयवस्थापन, गुणस्तरीय उत्पादन र परिणामलाई आधार बनाएर प्रोत्साहन रकम दिने उहाँले बतायनुभयो ।

Facebook Comments Box
TOP