स्याङ्जाको हरिनाश—३ चिसापानीमा घरघरमा धारा ।

प्रकाश डोटेल / स्याङ्जा :
कुनै बेला खानेपानीको जोहो गर्नमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका स्थानीयले अब भने मुक्ति पाएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत गाउँमा सबैका घर–घरमा धारा जडान भएपछि स्थानीयलाई खानीपानी सहज भएको छ ।

गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा धारा जडान गरिएको हो । खानीपानीको घर–घरमा धारा जडान भएपछि स्थानीयले सरसफाइदेखि करेसाबारीसम्म पानीको प्रयोग गरेका छन् ।

हरिनाश गाउँपालिका ३ चिसापानीकी जमुना शर्माले खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताउनु भयो । “पहिले पहिले पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपथ्र्यो ।” उहाँले भन्नुभयो, “अहिले घर–घरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ ।”

“पानीको लागि खर्च गर्ने समयमा वचत हुँदा अन्य काम गर्न पनि सहज भएको ।” स्थानीय सोमनाथ लम्सालले भन्नुभयो, “घर–घरमा पानी आएपछि स्थानीयले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेका छन् ।” घरमै पानी आउँदा अन्य काम गर्न समय अभाब नभएको लम्सालले अनुभव सुनाउनुभयो ।

गाउँपालिकाको ३२ लाख तथा परियोजनाकोे ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको जनश्रमदानमा गरी १ करोड २६ लाखको लागतमा निर्माण भएको हो । योजनामा सम्पन्न गर्नमा स्थानीयले ९३ दिन जनश्रमदान गरेका हुन् ।

चिसापानीका २ सय २ घरधुरीका १ हजार १ सय ५८ जनसङ्ख्या पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । चिसापानीबाट झण्डै ६ किलोमिटर टाढा रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो । स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ ।

Facebook Comments Box
TOP