प्रभावकारी बन्यो फेसवुक अभियान,मृगौला पीडित प्राध्यापक गुरुङलाई झण्डै २५ लाख सहयोग ।

खुम वहादुर गुरुङलाई सहयोग हस्तान्तरण गर्दै वालिङ वहुमुखी क्याम्पसका पूर्व प्रमुख रिना राना

राधाकृष्ण डुम्रे/स्याङ्जा :
फेसवुक मार्फत मृगौला रोगीको लागि सञ्चालन गरिएको सहयोग अभियान प्रभावकारी भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहनुभएका वालिङ नगरपालिका–९ का खुमबहादुर गुरुङको उपचार सहयोगका लागि चलाईएको अभियान निक्कै प्रभावकारी भएको अभियानका अभियान्ता टिकराज गुरुङले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल विशेष गरी फेसवुक मार्फत चलाईएको अभियान मार्फत १३ लाख ५३ हजार ६०८ संकलन भएको हो । त्यस्तै वालिङ वहुमुखी क्याम्पसले चलाएको अभियानबाट रु ८ लाख ९४ हजार तथा नेल्टा स्याङ्जाको अभियान मार्फत रु २ लाख ३० हजार संकलन भएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहनुभएका गुरुङको उपचारका लागि विभिन्न समुहले गरी रु २४ लाख ७४ हजार ९२७ रकम जम्मा गरेका हुन् ।


वालिङ बहुमुखी क्याम्पसले पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सकलन समिति बनाएको थियो भने अग्रेजी विषयका प्राध्यपक गुरुङको लागि नेल्टा स्याङ्जाले पनि सहयोग संकलनको विशेष अभियान चलाएको थियो ।
सङ्कलित रकम पूर्व क्याम्पस प्रमुख रीना राना र फेसवुक अभियानका अभियान्ता टिकराज गुरुङले विरामी खुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको छ ।


सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले गुरुङको उपचारका लागि सहयोग गर्नुहुने प्राध्यापक, विद्यार्थी, समाजसेवी तथा देश विदेशमा रहनुहुने सबैलाई धन्यवाद दिनुभयो ।
गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो । उहाँको उपचारका लागि सहयोग रकम संकलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अभियान्ता टिकराज गुरुङलाई वालिङ क्याम्पसले सम्मान समेत गरेको छ ।

Facebook Comments Box
TOP