अवसरको सदुयोग गर्न नजान्दा व्यापार घाटा बढ्यो – गभर्नर नेपाल ।

राधाकृष्ण डुम्रे / स्याङ्जा :
नेपाल राष्ट्र वैंकका गभर्नर डाक्टर चिरन्जिवी नेपालले अवसरको सदुपयोग गर्न नजान्दा व्यापार घाटा बढेको बताउनु भएको छ । सहजै उपलव्ध हुने श्रोत साधनको प्रयोग गर्न नजान्दा नै व्यापार घाटाको डरलाग्दो स्थिती देखा परेको गभर्नर नेपालको दावी छ । आज बाट स्याङ्जाको वालिङमा शुरु भएको बैकिङ तथा बीमा एक्स्पोको उद्धघाटन गर्दे गभर्नर नेपालले भन्नुभयो ‘जताततै अवसरै अवसर हुँदा पनि हामीले प्रयोग गर्न जानीरहेका छैनौं ।’


नेपालीको ध्यान वैदेशिक रोजगार र जागिर खान तर्फ मात्रै गएको भन्दै उहाँले अव स्वदेशमा नै उत्पादनसँग जोडिनु अति आवश्यक रहेको धारणा राख्नु भयो । राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै आएको जानकारी दिदै गभर्नर नेपालले भन्नु भयो ‘घरघरमा नै पैसा आईपुग्दा पनि हामीले सदुपयोग गर्न नसकेकै कारण पछाडि परेका हौं ।’


गाउँ-गाउमा वैंक तथा वित्तीय संस्था खुलेका छन् आवश्यकता अनुशार कर्जा लिन सकिने अवस्था छ तर पनि हामी व्यवशाय गर्न नसक्नुको पछाडि वित्तीय जागरण नहुनु अर्काे महत्वपूर्ण पाटो रहेको भन्दै उहाँले राष्ट्र बैंकले जागरण अभियानलाई प्राथमिकतामा राखेको बताउनु भयो । पैसाको महत्व बुझ्न आग्रह गर्दै गभर्नर नेपालले थप्नुभयो ‘हाम्रो गाउँ—ठाउँ हामी आफै बनाउनु पर्छ ।’


कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले भर्खर प्रस्तुत भएको बजेटमा विकास खर्च कमहुनु, ठूलो अन्तरको व्यापार घाटा रहनु तथा ऋणद्वारा घाटा बजेट परिपुर्ति गर्नुपर्ने जस्ता कारणले आगामी बर्ष पनि तरलताको अभाव हुने दावी गर्नुभयो । उहाँले कर्जाको ब्याज घट्न सकेन भने लगानीकर्ता उत्साहित हुन नसक्ने भन्दै राष्ट्र बैंकलाई उचित मौद्रिक नीति अवलम्वन गरि लगानी मैत्री वातावरण बनाउन आग्रह गर्नु भयो । नगर प्रमुख खाँणले भन्नु भयो ‘नेपालको विकासमा वाधकका रुपमा रहेका बाँझिने खालका केही कानुन तत्काल हटाउनु पर्छ । उहाँले भन्नुभयो अनावश्यक कानुन कै कारण पनि देश अगाडि जान सकिरहेको छैन । नगर प्रमुख खाँणले भन्नुभयो स्थानीय सरकारबाट पाउनु पर्ने सवै सहयोग बैंक तथा वित्तीय संस्थाले पाउनेछन् तर उनीहरुको सेवा प्रवाह गाउँ—गाउँ सम्म पुग्नु पर्यो ।’


कार्यक्रममा बोल्दै डेभलपमेन्ट वैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले आफूहरु गाउँ—गाउँ पुगेर सेवा दिन तयार रहेको बताउनु भयो । उहाँले रोजगारको खोजीमा विदेश जाने क्रम रोक्न आफूहरुले कर्जाको प्रवाह सरल गराउदै लगेको जानकारी दिनुभयो । गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएको ढकालले भन्नुभयो ‘आफूहरुसँग रहेको निक्षेपलाई कृषि पर्यटन आदिमा लगानी गरी समग्र स्याङ्जाको विकासमा सहयोग गर्न तयार छौं ।’


सो अवसरमा वालिङ उद्योग वासणज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यापारीका विभिन्न समस्याका वारेमा गर्भनर डाक्टर नेपालको ध्यानाकर्षण गराउनु भएको थियो ।
बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु भएको एक्स्पो दुई दिन सम्म चल्नेछ । मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने आयोजकले जानकारी दिएको छ ।


ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार एक्स्पोको आयोजना गरिएकोे बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिनुभयो । उहाँले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP