सकियो कांग्रेसको एक महिने जागरण अभियान ।

सरकारको नराम्रा क्रियाकलाप बारे जनतालाई जानकारी दिन सफल भएको कांग्रेसको दावी ।

आँधीखोला खवर / वालिङ :
हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम आज सकिएको छ । नेपाली कांग्रेस स्याङ्जाले राष्ट्रिय जागरण अभियानलाई सहर देखि गाउँसम्म कार्यक्रम लगेको जनाएको छ । वैशाख २५ गते कांग्रेसको जिल्ला कार्यालय स्याङ्जाबाट शुरु भएकोे राष्ट्रिय जागरण अभियान शनिवार वालिङमा सभा गरेर समापन गरिएको हो ।


वालिङमा भएको जागरण सभाको समापन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले एउटा चुनाव हार्दैमा निराश हुनु आवश्यक नभएको बताउनुभएको छ । नेता श्रेष्ठले अहिलेको हार पार्टीकै अन्तरघातले गर्दा भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,“आफ्नै मान्छेबाट घात भयो, विपक्षीलाई सहयोग गरी आफ्नैले अन्र्तघात गरे । ”
कागे्रसको गड मानिएको स्याङ्जामा निकै निराशाजनक परिणाम आएपनि यसबाट पाठ सिकेर नेपाली कागे्रस अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई थियो । नेता श्रेष्ठले भन्नुभयो, “चुनाव हार्दैमा पुच्छर लुकाएर हिड्ने गोपालमान होईन, गोपालमान कहिल्यै भाग्दैन् ।” पार्टीमा अनुशासन आवश्यक रहेको भन्दै पार्टीमा बस्ने मान्छे अनुशासनमा रहनु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता श्रेष्ठले भन्नुभयो, “टिकट पाईन् भन्दैमा अनावश्यक बोल्न हुँदैन् । सबैको पालो आउँछ, पालो पर्खन सक्नु पर्छ ।” पार्टीमा भागभण्डा घातक रहेको भन्दै उहाँले भन्नुभयो, “म भागबण्डाको विपक्षमा छु ।” विश्वमा कम्युनिष्टहरु लोप हुँदै गईरहेका अवस्थामा नेपालमा कम्युनिष्ट मौलाउनु गम्भीर रहेको उहाँको भनाई थियो । दुई तिहाईको कम्युनिष्ट सरकारले २ पटक सम्म बजेट सार्वजानिक गरेपनि त्यो बजेटले समृद्धिको बाटो खोल्न नसकेको श्रेष्ठको आरोप छ ।
श्रेष्ठले भन्नुभयो, “सरकारले ल्याएका सबै विधयेकहरु संविधान विरोधी छन् जनता विरोधी छन् ।” कम्युनिष्ट सरकारले वोल्ने र प्रेस स्वतन्त्रतालाई खोस्दै छ भन्दै उहाँले भन्नुभयो, “भष्ट्राचार मौलाएको छ जनता चैन सँग निदाउन पाएका छैनन । जनतालाई करको भारी बोकाईएको छ, महंगी बढेको छ खोई सरकारको समृद्धि र सुख ?” सरकारले ठुलो माछा समात्छु भन्दाभन्दै साना माछा समेत फुत्काईसकेको नेता श्रेष्ठको आरोप छ । सरकार सुन काण्ड वाईडबडी काण्डका मतियारहरुलाई लुकाउन लागि परेको भन्दै नेता श्रेष्ठले यो सरकारले अन्तराष्ट्रिय समुदायको विश्वास जित्न नसकेको ठोकुवा गर्नुभयो ।

जागरण सभामा सहभागी नेताहरु

कार्यक्रममा कागे्रसका केन्द्रिय सदस्य एवं स्याङ्जाका लागि जागरण अभियानका संयोजक गोविन्द प्रसाद भट्टराईले कम्युनिष्टहरुले लोकतन्त्र स्वीकार नै नगरेको आरोप लगाउनुभयो ।
पार्टीमा गुटबन्दीको अन्त्य गरी स्थानीय तहबाटै पार्टीलाई मजबुद र बलियो बनाउन आवश्यक रहेको नेता भट्टराईले बताउनुभयो । गुटबन्दीले पार्टीलाई निकै अप्ठ्यारो पारेको भन्दै हिमाल पहाड तराई कोहि छैन् पराई भन्ने भावलाई पार्टीले आत्मसात गरेको उहाँको भनाई छ । वर्तमान सरकार कागे्रसकै एजेन्डामा हिडिरहेको उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्यद्धय मोहनप्रसाद पाण्डे र राजु थापाले सरकारले मतदाताको चाहना र देशको आवश्यकता अनुशार काम गर्न नसकेको आरोप लगाए । उनीहले कुरा मात्रै ठुलो गर्ने तर काम भने केही नगर्ने कम्युनिष्ट सरकार देशको लागि घातक हुदै गएको उनीहरुले दावी गरे ।


कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं जागरण अभियानका लागि वालिङका संयोजक खगेन्द्रराज रेग्मीले कांग्रेस कै कारण देशमा परिवर्तन आएको बताउनु भयो । जागरण अभियानले स्याङ्जा कांग्रेसलाई बलियो बनाएको उहाँको भनाई थियो ।
कार्यक्रममा पूर्व सांसद शंकर प्रसाद पाण्डे,महिला संघकी नगर सभापति मैँयादेवि लम्साल लगायतले बोलेका थिए । कांग्रेसका नगर सभापति एवं वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खांणको स्वागतसंगै शुरु भएको कार्यक्रम नगर कार्यबहाक सभापति भिमलाल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव भुपराज बगाले र धन्यवाद कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति वुद्धि बहादुर राना कुमारले गर्नुभएको थियो ।


यसैबीच जिल्लामा १ महिनासम्म गरिएको जागरण अभियानका बारेमा पत्रकार भेटघाट मार्फत जानकारी गराईएको छ । सो अवसरमा कांग्रेस स्याङ्जाका प्रवक्ता ईन्द्र वहादुर गोदारले जिल्लामा १७ वटा जागरणका कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । जसमा ११ वटा पालिकामा,२ वटा क्षेत्रमा र ५ वटा भातृ संगठन मार्फत कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति कुमार रानाले १५ सय भन्दा धेरै अन्य पार्टी परित्याग गरी कांग्रेसमा आएको जानकारी दिनुभयो ।

पत्रकार भेटघाट मार्फत अभियानको बारेमा जानकारी दिईदै ।


पत्रकार भेटघाटमा कागे्रसका केन्द्रिय सदस्य एवं स्याङ्जाका लागि जागरण अभियानका संयोजक गोविन्द प्रसाद भट्टराईले एक महिने गतिविधीका बारेमा जानकारी गराउनु भएको थियो ।

Facebook Comments Box
TOP