राजनीतिक विवादले स्याङ्जाको सामुदायिक अस्पताल बन्द ।

स्याङ्जा — चिटिक्क र आकर्षक अस्पताल भवन । चिकित्सक भने कहिल्यै बसेनन् । चिकित्सक अभावमा बिरामी उपचार गर्न आउने कुरै भएन । त्यहीमाथि राजनीतिक किचलो । त्यसैले राम्रोसँग सञ्चालनमा नआइ आँधीखोला गाउँपालिका-६ सेतीदोभानस्थित सामुदायिक अस्पताल बन्द हुन पुगेको छ ।  

स्थानीय सरकार र अस्पताल सञ्चालकबीचको विवादले अस्पताल बन्द गर्नुपरेको समाजसेवी जीवन शर्माले बताए । ‘हामीले चन्दा उठाएर निर्माण गरेको अस्पताल हो’, उनले भने, ‘वृद्धवृद्धाले समेत खाइनखाइ सहयोग गरे । अहिले नेताहरु आफ्नो स्वार्थमा अस्पतालै बन्द गराए ।’ स्थानीयका अनुसार गाउँपालिकामा नेकपाको बहुमत छ । अस्पताल सञ्चालक समितिमा कांग्रेस बढी छन् । अस्पताल स्थापनामा नेतृत्व कांग्रेसले लिएकाले अहिले पनि आफ्नै अगुवाइमा चल्नुपर्ने माग कांग्रेस पक्षधर र पार्टीले अस्पताल चलाउन नहुने बरु गाउँपालिकामा हस्तान्तरण हुनुपर्ने मागका कारण यस्तो अवस्था आएको स्थानीय मन्जु पनेरुले बताइन् । ५ महिनासम्म अस्पताल बन्द हुदाँ गाउँपालिकाले सहयोग नगरेको आरोप स्थानीयको छ ।
साढे ६ रोपनी जग्गामा निर्मित अस्पतालमा २ भवन र १८ कोठा छन् । ०६७ मा महायज्ञ लगाएर ७२ लाख रुपैयाँ संकलन गरी २२ लाख रुपैयाँमा जग्गा खरिद गरेको संस्थापक अध्यक्ष जयराम पौडेलले जानकारी दिए । चार पटकसम्म डाक्टर फेरिएपछि यसको अवस्था खस्कँदै गएको थियो । आँधीखोला विकास तथा वातावरण स्वच्छता समूहद्वारा सञ्चालित अस्पताल डाक्टर पाल्न नसकेको बहानामा बन्द गर्नुपरेको संस्थापक अध्यक्ष पौडेलले बताए । ‘सुरुमा राम्रो सेवा दिइएको थियो । पछि बजेट अभाव भयो’ उनले भने । ०७१ मा सम्पन्न अस्पतालले ०७२ मा सञ्चालन अनुमति पाएको थियो । जयरामका अनुसार अस्पताल बन्द गर्नुपर्नाको खास कारण गाउँपालिकाले राजनीति गर्नाले हो ।गाउँपालिका अध्यक्ष सुधीर पौडेलले अस्पताल एक वर्षअघि पनि बन्द भएको बताए । ‘सञ्चालक समितिको दम्भले अस्पताल बन्द भएको हो’ पौडेल भन्छन्, ‘अस्पतालमा केही यस्ता कर्मचारी छन् । अहिले राजनीति गरेर पछि नेता बन्नु परेको छ । सञ्चालक समिति र कर्मचारीले अस्पताल बन्द गराउँदासमेत गाउँपालिकामा कुनै जानकारी गराएनन् ।’ कर्मचारीले राजनीतिक मुद्दा बनाएर बन्द गरिएको अस्पताल अब गाउँपालिकाले नै सञ्चालन गर्ने उनको भनाइ छ ।
सञ्चालक समिति र कर्मचारीको राजनीतिकै कारण जति महिना बन्द भयो यसको क्षतिपूर्ति उनीहरुले नै जनतालाई बुझाउनुपर्ने उनले बताए । गाउँपालिका उपप्रमुख शर्मिला पौडेलले अस्पताल सञ्चालनको लागि स्थानीय एकजुट हुन आवश्यक रहेको बताइन् । ‘हामीबीच नै एकरुपता छैन’ उनले भनिन्, ‘अस्पताल चलाउने जिम्मा सबैको हो । सहयोग गर्न कसैले चाहँदैनन् ।’ उनले स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतका व्यक्ति अस्पतालप्रति जिम्मेवारी वहन गर्न सके केही समयमै उत्कृष्ट बनाउन सकिने बताइन् ।अस्पतालमा स्रोत र साधनको राम्रो व्यवस्थापन भए पनि चिकित्सक नहुदाँ बिरामीको समेत संख्या न्युन थियो । चिकित्सक नभएपछि अस्पताल सिएमएको भरमा चल्दै आएको थियो । २०६७ मा स्थापना भएको आँधीखोला सामुदायिक अस्पताल १५ शय्याको हो । सामान्य चिकित्सा सेवा, सर्जिकल, हाडजोर्नी, नशारोग, स्त्री तथा प्रसूति, बाल रोग, भिडियो एक्स-रे, प्रयोगशाला, इसिजि र नेवुलाईजर सेवा उपलब्ध कहिल्यै पूरै सेवा स्थानीयले पाएनन् ।
स्थानीयको सक्रियतामा सञ्चालित अस्पताल पूर्ण बनाएर सरकारलाई हस्तान्तरण गर्ने योजना समितिको थियो । सामान्य रोगको उपचारका लागि पोखरा जानु नपर्ने अवस्था आएको भन्दै खुसी भए पनि अस्पताल बन्द हुँदा समस्या भएको स्थानीय रमेश ढकालले बताए । आजको कान्तिपुरमा समाचार छ ।

Facebook Comments Box
TOP