भीरकोट नगरपालिकामा जथाभावी पार्किङ गर्न नपाईने ।

आँधीखोला खवर/ भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकाले जथाभावी सडकमा पार्किङ नर्गन सर्वसाधारणलाई आग्रह गरेको छ । नगरपालिकाले भीरकोट १ सिसौघारीमा सञ्चालनमा ल्याएको बसपार्कमा पार्किङ गरी नगरलाई दुर्घटनामुक्त बनाउन आग्रह गरेको हो ।
१० वर्षका लागि भाडामा जग्गा लिएर नगरपालिकाले सिसौघारीमा १२ रोपनी क्षेत्रफलमा बसपार्क सञ्चालनमा ल्याएको हो । बसपार्कको सोमबार औपचारिक उद्दघाटन हुँदैछ ।
आईतबार सर्वसाधारणको जानकारीका लागी माईकिङ गर्नुका साथै नगरपालिका स्तरीय यातायात व्यवसायी र सरोकारवाला बीचमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नगरप्रमुख छायाँराम खनालले बढ्दो बजारीकरण संगै नगरलाई व्यवस्थित गर्न बसपार्कको आवश्यकता रहेको भन्दै नगरले भाडामा बसपार्क सञ्चालनमा ल्याएको बताउनुभयो । साघुरो सडकमा सडकको दायाँबायाँ पार्किङ गर्दा दुर्घटनाको जोखिम सँगै बजारको सुन्दरता नरहने बताउनु भयो । उहाँले विभिन्न समस्याको समाधान स्वरुप बसपार्क सञ्चालनमा ल्याउन सफल भएको भन्दै यसको सफल कार्यान्वयनका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोडदिनु भयो । कार्याक्रममा उपप्रमुख सिमा केसी कर्माचार्य, वडा नम्वर १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङगानाले प्रकाश पार्नुभएको थियो भने सञ्चालन योजना अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP